आयोगका अनुसार इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै ८५ हजार रुपैयाँ घुस मागेको जनाइएको छ ।
धनकुटा —
सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्।
विद्यालय भवन निर्माणसम्बन्धी अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
आयोगका अनुसार इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै ८५ हजार रुपैयाँ घुस मागेको जनाइएको छ । सोही रकम लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
अख्तियारको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो भने आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई धनकुटा र भोजपुरबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूबाट घुस रकम ८५ हजार रुपैयाँ, तीन थान मोबाइल र सम्बन्धित कागजातसमेत बरामद गरिएको आयोगले जनाएको छ।
