धनकुटा नगरपालिका–९ अन्तर्गत त्रिवेणी–मूलघाट भित्री सडक खण्डमा चेकजाँचका क्रममा ४३.९९० केजी गाँजा बरामद गरिएको हो।
धनकुटा — जिल्लामा ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुई जना फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मूलघाटबाट खटिएको गस्ती टोलीले धनकुटा नगरपालिका–९ अन्तर्गत त्रिवेणी–मूलघाट भित्री सडक खण्डमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो।
त्रिवेणीबाट मूलघाटतर्फ आउँदै गरेका प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको को २१ प ९५६५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूले प्रहरी देखेपछि सवारी साधन छोडी भाग्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरीले प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाइकल चालक शहीदभूमि गाउँपालिका–७ बस्ने अन्दाजी २२ वर्षीय सुदीप राई (शुसान) लाई नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलमा बाँधिएको जेब्रा झोला जाँच गर्दा अन्दाजी १९.८५० केजी गाँजा फेला परेको थियो। त्यस्तै, अर्को मोटरसाइकलमा बाँधिएको झोलाबाट अन्दाजी २४.१४० केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। यससँगै जम्मा ४३.९९० केजी गाँजा बरामद गरिएको हो।
घटनामा संलग्न को २१ प ९५६५ नम्बरको मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति भने फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई जिल्ला अदालत धनकुटाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
