कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार हावाहुरीका कारण यहाँ आँप, लिची, रुद्राक्ष, मकै तथा सिमी बालीमा अत्यधिक नोक्सानी भएको छ। प्रभावित किसानले न्यूनतम ५ हजारदेखि अधिकतम २५ लाख रुपैयाँसम्मको क्षति बेहोरेका छन्।
धनकुटा — गएको चैत २ गते राति आएको हावाहुरी र असिना पानीका कारण धनकुटामा कृषि क्षेत्रमा मात्रै १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लाको साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ। हावाहुरीका कारण आँप, लिची, रुद्राक्ष, मकै तथा सिमी बालीमा अत्यधिक नोक्सानी भएको केन्द्रले जनाएको छ।
त्यस्तै छथर जोरपाटी गाउँपालिकाको सिधुवा र मजुवा क्षेत्रमा प्लास्टिक टनेल तथा अलैँची भट्टीमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नगेन्द्र रानाले जानकारी दिए। उनका अनुसार प्रभावित किसानहरूले न्यूनतम ५ हजारदेखि अधिकतम २५ लाख रुपैयाँसम्मको क्षति व्यहोरेका छन्।
कृषि ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरेर क्षतिको विवरण संकलन गरी कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा पठाइसकेको जनाएको छ। तर क्षतिपूर्ति उपलब्ध हुने नहुने विषयमा भने हालसम्म टुङ्गो लागिसकेको छैन।
'हामीले क्षतिको विवरण तयार पारेर पठाएका छौं, अब क्षतिपूर्ति दिने नदिने निर्णय प्रदेश सरकारबाट आउला,' रानाले भने। केन्द्रका अनुसार साँघुरीगढी र छथर जोरपाटी गाउँपालिकामा मात्रै ५० जनाभन्दा बढी किसान आंशिक तथा पूर्ण रूपमा प्रभावित भएका छन्।
