स्थानीय र प्रदेश संरचना संचालनमा आएपछि अनुदानकै लागि उद्योग खोल्ने प्रवृत्ति बढेको र अहिले बन्द हुन थालेको घरेलु कार्यालय धनकुटाका प्रमुख उद्योग अधिकृत मेघराज बस्नेतको दाबी ।
What you should know
धनकुटा — धनकुटामा पछिल्लो समय लघु, घरेलु र साना उद्योग तथा वाणिज्य फर्महरुको लगतकट्टा र खारेजी दर निरन्तर बढिरहेको छ ।
पछिल्ला तीन आर्थिक वर्षमा धनकुटामा नयाँ उद्योग स्थापना र संचालनको अवस्था निराशाजनक देखिएको हो । आर्थिक वर्ष २०८०/८१ मा धनकुटामा १ सय २२ नयाँ उद्योग दर्ता हुँदा ८४ वटा खारेजीमा परेका थिए । वाणिज्यतर्फ ३९ नयाँ फर्म दर्ता हुँदा २८ वटा खारेजीमा परेका छन् । २०८१/८२ मा ९९ नयाँ उद्योग दर्ता हुँदा १ सय ४१ उद्योग खारेजीमा परेका थिए । वाणिज्यतर्फ ३५ नयाँ दर्ता हुँदा ९५ फर्म खारेजीमा परेको घरेलु कार्यालयको तथ्याङ्क छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म ७७ नयाँ उद्योग दर्ता हुँदा ६२ वटा खारेजी भइसकेको घरेलु कार्यालय धनकुटाका प्रमुख उद्योग अधिकृत मेघराज बस्नेतले जानकारी दिए। यस्तै वाणिज्यतर्फ पनि २७ नयाँ फर्म दर्ता हुँदा १२ वटा खारेजीमा परेको उनको भनाइ छ ।
'स्थानीय र प्रदेश संरचना संचालनमा आएपछि अनुदानकै लागि उद्योग खोल्ने प्रवृत्ति बढेको र अहिले बन्द हुन थालेका हुन्,' प्रमुख उद्योग अधिकृत बस्नेतले भने, 'स्थानीय तह सञ्चालनमा आएपछि कुनै पनि अनुदानका लागि फर्म र उद्योग अनिवार्य गरिएकाले त्यसबेला उद्योग दर्ता गर्नेको संख्या बढेको हुन सक्छ ।'
लघु घरेलु र साना उद्योगको संख्या घट्दै जानु, बन्द र खारेजीमा पर्नु स्थानीय अर्थतन्त्रका लागि राम्रो भने नभएको उनको भनाइ छ। बस्नेत भन्छन्, 'कतिपय उद्योग त वार्षिक नवीकरणसमेत गर्न नसक्ने अवस्थामा छन्। त्यस्ता सञ्चालकले उद्योग राखिराख्नु भन्दा बन्द गर्नु निको ठानेका पनि हुन सक्छन्।'
स्थानीय स्तरमा खुलेका लघु, घरेलु र साना उद्योग धमाधम बन्द हुँदै जानुमा उत्पादनको बजार अभाव, लगानी क्षमता, कच्चा पदार्थ आपूर्ति, आवश्यक प्रविधिको अभाव तथा दक्ष जनशक्ति अभावलाई कारण ठानिएको छ । धनकुटामा विगत २५ वर्षदेखि कविता फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएकी विष्णुमाया कन्दङवा कोभिड-१९ को महामारीपछि घरेलु उद्योग थप सङ्कटमा परेको बताउँछिन्। उनले कोरोनाकालमा संकटमा परेका सानो लगानीका घरेलु, लघु र साना उद्योग उठ्नै नसक्ने गरी थला परेको बताइन्।
कोरोना महामारी, राजनीतिक अस्थिरता र विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दीले सानो लगानीका घरेलु उद्योग संचालनमा नकारात्मक असर पारेको उनको भनाइ छ । व्यावसायिक उत्पादनमा लाग्न नसकेका उद्योगीहरूले दर्ता र नवीकरण गर्नुभन्दा खारेजीको बाटो रोजिरहेको उनले बताइन्।
सहुलियतपूर्ण ऋण, नियमित कच्चा पदार्थ आपूर्ति, बजार पहुँचको अभावका कारण लघु, घरेलु र साना उद्योग बन्द हुने क्रम बढेको घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी बताउँछन् ।
घरेलु तथा साना उद्योग महासंघ धनकुटाकी महासचिव अम्बिका धमला संकटमा परेका उद्योगलाई सहयोग गर्न स्थानीय, प्रदेश र संघीय सरकारले चासो नराखेको बताउँछिन्। उनी भन्छिन्, 'स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने साना उद्योगको प्रवर्द्धनका लागि खास नीति र कार्यक्रम नै आउन सकेनन् ।'
सम्भावना बोकेका लघु, घरेलु र साना उद्योगको अनुगमन गरी पूँजी वृद्धि प्रविधि र जनशक्ति व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्ने धमलाको भनाइ छ। यसका साथै कच्चा पदार्थ आयात र निर्यातको वातावरण सहज बनाउनुपर्ने उनले बताइन्।
धनकुटामा हाल उद्योगतर्फ ४ हजार २ सय ५९ र वाणिज्यतर्फ १ हजार ७ सय १८ गरी ५ हजार ९ सय ७७ फर्म संचालनमा छन् । लघु, घरेलु तथा साना उद्योगको संचालन र दीर्घकालीन स्थायित्वका लागि सहुलियतपूर्ण ऋण, सीप विकास, प्रविधि र बजार सुनिश्चितता हुनुपर्ने साना उद्यमीको माग छ।
