सडक छेउ र घुम्तीका सोलार बत्ती बिग्रिएपछि दुर्घटनाको जोखिम बढ्दै

विशेष गरी दुर्घटनाका सम्भावित घुम्ती तथा सडक किनारामा राखिएका सोलार बत्ती धेरै स्थानमा भाँचिएका, उखेलेर फालिएका तथा काम नलाग्ने अवस्थामा पुगेको डिभिजन सडक कार्यालय धनकुटाका सूचना अधिकारी रमेशकुमार गोइतले बताए ।

चैत्र १६, २०८२

विनोद घिमिरे

Risk of accidents increases as roadside and mobile solar lights break down

What you should know

धनकुटा — कोशी राजमार्गअन्तर्गत भेडेटारदेखि सिंधुवासम्मको सडक खण्डमा जडान गरिएका सोलार बत्तीहरू काम नलाग्ने अवस्थामा पुगेका छन्। सडकका घुम्ती र अन्तिम सीमासूचक सोलार बत्ती धेरै ठाउँमा बोल्नै छोडेका छन्।

सोलार सिस्टमले रिचार्ज हुने र राति उज्यालो दिन्थे। जसले गर्दा सवारी र ढुवानीका साधन चालकलाई सडकको अन्तिम सीमा घुम्ती बारे अनुमान गर्न सजिलो हुन्थ्यो। कोशी राजमार्गको भेडेटार मूलघाट रुद्रबारी धनकुटा बजार र हिले क्षेत्रमा राखिएका सोलार बत्ती कतै तोडफोड गरिएका भाँचिएका र बिग्रिएका छन्। डिभिजन सडक कार्यालयले राखेको थियो ।

विशेष गरी दुर्घटनाका सम्भावित घुम्ती तथा सडक किनारामा राखिएका सोलार बत्ती धेरै स्थानमा भाँचिएका, उखेलेर फालिएका तथा काम नलाग्ने अवस्थामा पुगेको डिभिजन सडक कार्यालय धनकुटाका सूचना अधिकारी रमेशकुमार गोइतले बताए ।

सडकको अन्तिम सीमा देखाउने उद्देश्यले जडान गरिएका यस्ता सोलार बत्तीहरूको संरचना नै क्षतिग्रस्त हुँदा तिनले दिनुपर्ने संकेत प्रभावकारी रूपमा दिन सकेका छैनन्। तस्बिरमा देखिएझैं कतिपय स्थानमा बत्तीका पोल नै ढलेका छन् भने कतिपय पूर्ण रूपमा नष्ट भएका छन्।

सूचना अधिकारी गोइतले सोलार सिस्टमको उक्त प्रविधि सडकमा धेरै टिकाउ नभएको जनाए । उनले भने, 'सोलार प्रविधिले काम गरेन दुई चार महिनापछि खतम भइहाल्छ सडक मर्मतको काम सकेपछि फेरि अर्को प्रविधिबाट सतर्कता सूचना दिने गरी लाइट राख्नेछौँ।'

भेडेटारदेखि सिंधुवासम्म करिब ६० किलोमिटर क्षेत्रमा कुहिरो र अँध्यारोमा सवारी चालकलाई मार्गदर्शन गर्न यस्ता सोलार बत्ती जडान गरिएको थियो। साँघुरा सडक, भीर तथा अप्ठ्यारो मोड भएका स्थानमा सवारी चालकलाई सुरक्षित मार्ग देखाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यी संरचना राखिएका थिए।

तर हाल अधिकांश बत्तीहरू नष्ट हुँदा रातको समयमा सवारी चालकलाई सडकको वास्तविक अवस्था अनुमान गर्न कठिन भइरहेको स्थानीय चालकहरू बताउँछन्। धरान धनकुटा सडकमा ट्रक कुदाउँदै आएका संखुवासभाका ग्याल्जेन शेर्पाले सोलारबत्ती र ट्राफिक चिन्ह प्रभावकारी नहुँदा दुर्घटनाको जोखिम बढ्ने गरेको सुनाए। बत्ती हुँदा राति कुहिरो लागेको बेला पनि त्यसैका अनुसारमा गाडी चलाउन सकिन्थ्यो। तर अहिले ती बत्ती कतै देखिँदैनन्।

सडकको अन्तिम सीमा जनाउने सोलारबत्ती र ट्राफिक चिन्ह नहुँदा दुर्घटनाको जोखिम हुने गरेको सवारीचालक धनकुटा जिरो पोइन्टका मनोज चाम्लिङ राई बताउँछन्। विशेषगरी बाक्लो कुहिरो लाग्ने समयमा यस्ता संकेत नदेखिँदा सवारी साधन सिधै सडक बाहिर जाने जोखिम बढेको राईको भनाइ छ। 

सोलार बत्ती मात्र नभई घुम्ती, दोबाटो र चौवाटोमा राखिएका ट्राफिक ऐना, चेतावनी बोर्ड तथा सूचना संकेतहरू समेत उस्तै जीर्ण अवस्थामा छन्। धेरैजसो ऐना फुटेका, बोर्ड च्यातिएका तथा संकेतहरू अस्पष्ट भएका कारण चालकलाई आवश्यक जानकारी प्राप्त गर्न समस्या भइरहेको मोटरसाइकल चालक भुवन खतिवडाले बताए । 

गएको तीन आर्थिक वर्षमा धनकुटामा सवारी ज्यान सम्बन्धी १९ वटा मुद्दा दर्ता भएका छन्। तीन आर्थिक वर्षमा भएका दुर्घटनामा धनकुटामा २७ जनाको ज्यान गएको धनकुटाका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिए।

आर्थिक वर्ष २०८०/०८१, २०८१ /०८२ र २०८२/०८३ मा सडक दुर्घटना तथा सवारी ज्यानसम्बन्धी मुद्दामा १९ जना प्रतिवादी पक्राउ परेका छन् । थापा क्षेत्रीले चेतावनी चिन्ह दुरुस्त नहुँदा लापरवाही बढ्ने बताए उनले भने त्यस्ता चिन्ह संकेत दुरुस्त भएमात्र चालक सतर्क हुन्छ। थापा क्षेत्री भन्छन् 'प्रहरीले आफ्नो दायित्व त पूरा गरेको छ तर सडक दुर्घटना जोखिम व्यवस्थापन को काम प्रहरी एक्लैले गर्न सक्दैन ।'

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully