अख्तियारले उनीहरूविरुद्ध आइतबार अदालतमा आरोपपत्र दायर गरेको हो ।
What you should know
धनकुटा — सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दै भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले उनीहरूविरुद्ध आइतबार अदालतमा आरोपपत्र दायर गरेको हो । तत्कालिन प्रमुख थपलियासहित छुट जग्गा दर्ता समितिका सदस्य तथा तत्कालीन शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालय धनकुटाका तत्कालीन सर्वेर्क्षक राजेन्द्रप्रसाद यादव, धनकुटाको साविक तांखुवा गाउँविकास समिति सचिव भक्तबहादुर भट्टराई, मालपोत कार्यालय धनकुटाका तत्कालीन सुब्बा छविलाल फुयाँल, छुट जग्गा दर्ता गर्ने जग्गाधनी माधबहादुर भट्टराईविरुद्ध कैद र बिगो बमोजिमको जरिवाना माग गर्दै आरोपपत्र दायर गरेको हो ।
तत्कालीन मालपोत प्रमुख थपलियालाई ६७ लाख ६८ हजार बिगो र कैद सयाजको माग गरिएको छ । यस्तै, शाखा अधिकृत दुवाडी, नापीका सर्वेक्षक यावदलाई पनि समान बिगो र कैद सजायको माग गरिएको छ ।
तत्कालिन तांखुवा गाविसका सचिव भट्टराईलाई ६७ लाख ६८ हजार बिगो र थप १० लाख समेत गरी बिगो र कैद सजायको माग गरिएको छ । मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा फुयाँललाई ६७ लाख ६८ हजार बिगो र कैद सजायको माग गरिएको छ ।
जग्गाधनी माधबहादुर भट्टराईलाई ६७ लाख ६८ हजार र थप १० लाख समेत बिगो र कैद सजाय माग गरिएको छ । बाँकी १० जनालाई भने जग्गा जफतको माग गरिएको छ ।
यस्तै, हाल जग्गाधनी रहेका खगेन्द्रबहादुर थापा, हिमादेवी बस्नेत, कुमारी मगर, मित्रबहादुर मगर, अम्बरबहादुर मगर, पदमबहादुर सिंजाली, निर्मला घिमिरे, इन्द्रबहादुर मगर र स्व. पूर्णबहादुर थापाको हक सकार गर्ने राजेन्द्र थापाविरुद्ध जग्गा जफत माग गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले धनकुटाको तत्कालीन तांखुवा गाउँविकास–९ स्थित कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ को सरकारी जग्गा माधबहादुर भट्टराई गाविस सचिव र मालपोतका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा कायम हुने गरी भ्रष्टाचार गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले २१ मंसिर २०६६ मा उक्त जग्गा माधबहादुर भट्टराईको नाममा दर्ता गरेको अख्तियारको दाबी छ ।
