धनकुटाको सल्लेरी वनमा दुर्घटनाको जोखिम । कोशी राजमार्गअन्तर्गत धनकुटा–हिले खण्डको करिब एक किलोमिटर क्षेत्र यही वनभित्र पर्छ।
What you should know
धनकुटा — ऐतिहासिक सल्लेरी राष्ट्रिय वन अहिले स्थानीय बासिन्दा र यात्रुका लागि जोखिमको कारण बन्दै गएको छ। धनकुटा नगरपालिका–६ कचिडेको वनमा रहेका डेढ सय वर्ष पुराना जीर्ण सल्लाका रुखहरू हिउँदमा आँधीहुरी र डढेलो तथा वर्षायाममा जरैसहित ढल्ने समस्याले दुर्घटनाको सम्भावना बढाएको हो ।
यस वनभित्र रहेको सरस्वती मन्दिरमा पुजारी काम गर्दै आएका योगेन्द्रप्रसाद दाहाल ५५ वर्षदेखि नित्य पूजाआजा गर्दै आएका छन्। तर, जीर्ण रुख ढल्ने त्रास सधैं रहने उनी बताउँछन्। पूजाका लागि बिहान बेलुकै आउनु जानुपर्ने हुँदा बुढा पुराना रुखकै कारण दुर्घटनाको जोखिम भएको बताउँछन्। 'धेरै पुराना रुखहरू ढोडजस्तै भइसके, सानो हावा लाग्दा पनि भाँचिने र उखेलिने डर छ,' उनले भने।
स्थानीय पुरुषोत्तम पोखरेल पनि स्वास्थ्यका लागि नियमित हिँडडुल गर्न सल्लेरी वन पुग्छन्। तर उनी भन्छन्, 'आउँदा–जाँदा सधैं डर लाग्छ। आँधीहुरी लाग्दा त हिँड्नै सकिँदैन। धेरै रुख ढलेका छन्, मान्छे परेको भए ठूलो दुर्घटना हुन्थ्यो।'
गत चैत २ गते राति आएको आँधीहुरीले सल्लेरी वनका १ सय ५० भन्दा बढी ठूला रुख ढालेको थियो। कतिपय रुख जरैसहित उखेलेर ढल्दा नेपाली सेनाको भीमदल गण, जिल्ला आयुर्वेद औषधालय, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लगायतका सार्वजनिक संरचनामा समेत क्षति पुगेको थियो। संयोगवश त्यसबेला मानवीय क्षति भने हुन पाएन ।
कोशी राजमार्गअन्तर्गत धनकुटा–हिले खण्डको करिब एक किलोमिटर क्षेत्र यही वनभित्र पर्छ। साथै कचिडे, स्कुलडाँडा, पाङसिङ र आत्मारा जाने स्थानीय बाटो पनि यही जंगल हुँदै गएको छ। त्यसैले दैनिक सयौं यात्रु र स्थानीय बासिन्दा सधैं जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
कचिडेका नर्सरी व्यवसायी तथा प्राध्यापक ज्योतिराम पोखरेलका अनुसार हरेक मौसममा फरक–फरक जोखिम रहेको छ। 'हिउँदमा आँधीहुरी र डढेलोको डर हुन्छ, बर्खामा जरैसहित रुख ढल्ने खतरा हुन्छ। समयमै व्यवस्थापन नगरे ठूलो दुर्घटना हुन सक्छ,' उनले बताए।
यस वनको संरक्षण र व्यवस्थापनका लागि डिभिजन वन कार्यालय धनकुटाले ४० वर्षे पुनरुत्पादन कार्ययोजना लागू गरेको छ। करिब ८ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको वनमा पुराना रुख काट्दै नयाँ बिरुवा रोप्ने नीति अपनाइएको छ। डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीका अनुसार वन जोगाउने र मानवीय जोखिम कम गर्ने उद्देश्यले योजना अघि बढाइएको हो। प्राथमिकता नागरिकको सुरक्षालाई नै दिइएको छ।
यद्यपि, स्थानीयवासी भने सीमित संख्यामा मात्र रुख कटान गर्ने वर्तमान नीतिले तत्कालको जोखिम न्यूनीकरण नहुने बताउँछन्। 'जहाँ मानिसको धेरै आवतजावत हुन्छ, त्यस्ता जोखिमयुक्त रुख तुरुन्त हटाउनुपर्छ,' ज्योतिराम पोखरेलको सुझाव छ।
सल्लेरी वनभित्र गोकुण्डेश्वर माध्यमिक विद्यालय, योग तथा ध्यान केन्द्र, सरस्वती मन्दिर, महेन्द्र पार्क, उद्योग वाणिज्य संघको भवन, सामुदायिक आँखा अस्पताल तथा फोहोरमैला व्यवस्थापन केन्द्र लगायतका संरचना रहेका छन्। सल्लेरी वनभित्र रहेको आयुर्वेदिक औषधालयमा मात्रै चैत २ गते रातिको आधीहुरीले करिब १५ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको त्यहाँकी प्रमुख विद्या श्रेष्ठले बताइन्। उनले क्षतिको विवरण कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बुलाई बुझाएकी थिइन्। सोमबार रातिको आँधीहुरीले सल्लेरी वनमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालको भनाइ छ।
