नगर प्रहरी हाल आँपगाछी क्षेत्रमा दैनिक १२ घण्टा खटिँदै आएका छन्। उनीहरूले वन क्षेत्रभित्र दिसा–पिसाब गर्न, रुख कटान गर्न, जमिन खन्न–जोत्न, आवास निर्माण तथा उत्खनन गर्न एवं वनजन्य सामग्रीको ओसारपसार गर्न निषेध गरेका छन् ।
What you should know
धनकुटा — कोशी राजमार्गअन्तर्गत भेडेटार–धरान खण्डमा पर्ने जलाधार क्षेत्रको संरक्षणका लागि धरान उपमहानगरपालिकाको नगर प्रहरीले तीन वर्षयता निरन्तर पहरा दिइरहेको छ ।
यात्रु तथा सवारी चालकहरूले सडक छेउमै दिसा–पिसाब गर्ने प्रवृत्ति बढेपछि जलस्रोत प्रदूषित हुन थालेपछि २०७९ सालबाटै उक्त स्थानमा नगर प्रहरीले पहरा दिन थालेको थियो । धरान उपमहानगरपालिका–४ स्थित निशाने खोला र सर्दु जलाधार क्षेत्रमा विशेष निगरानी गर्दै आएको छ। धनकुटाको भेडेटार डाँडाबाट सुरु भएर बग्ने यी जलाधारहरू धरान बजारको मुख्य खानेपानी स्रोत मानिन्छन्। साथै, चिउरीबास, सूर्योदय बुद्ध बिहार र साँगुरी भञ्ज्याङ क्षेत्रबाट आउने पानी पनि यही प्रणालीमा समेटिन्छ।
नगर प्रहरी हाल आँपगाछी क्षेत्रमा दैनिक १२ घण्टा खटिँदै आएका छन्। उनीहरूले वन क्षेत्रभित्र दिसा–पिसाब गर्न, रुख कटान गर्न, जमिन खन्न–जोत्न, आवास निर्माण तथा उत्खनन गर्न एवं वनजन्य सामग्रीको ओसारपसार गर्न निषेध गरेका छन्।
यस अभियानमा निशान सारंगा सामुदायिक वन उपभोक्ता समूहले समेत सक्रिय सहकार्य गरिरहेको छ। स्थानीय तह निर्वाचन २०७९ पछि निर्वाचित धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङले जलाधार क्षेत्रको सरसफाइ र संरक्षणलाई प्राथमिकतामा राख्दै नगर प्रहरी परिचालनको सुरुआत गरेका थिए।
नगर प्रहरी परिचालनपछि जलाधार क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। यसअघि सडक छेउ र वन क्षेत्रभित्र खुला दिसा–पिसाबका कारण दुर्गन्ध फैलिने, पानीका मुहान नजिक फोहर जम्मा हुने र वर्षायाममा ती फोहर बगेर खानेपानीमा मिसिने समस्या थियो।
स्थानीयका अनुसार पहरा कडा भएसँगै यात्रुहरूमा सचेतना बढेको छ भने सवारी चालकहरूले पनि निर्धारित स्थानबाहेक अन्यत्र रोकेर फोहर गर्ने प्रवृत्ति घटेको छ। धनकुटाका सवारीचालक ज्ञानबहादुर कटुवाल अहिले उक्त क्षेत्रमा दिशापिसाब गर्न सवारी रोक्न नपाइने बताउँछन्।
