दुवै केन्द्र सञ्चालनका लागि प्राविधिक जनशक्ति व्यवस्थापन, नियमित बजेट विनियोजन र प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको विद्यार्थीको भनाइ ।
What you should know
धनकुटा — यहाँको धनकुटा बहुमुखी क्याम्पसमा स्थापना गरिएका विद्युतीय पुस्तकालय र अपाङ्गता विद्यार्थी सहायता केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्दा विद्यार्थीहरू प्रविधिमूलक अध्ययन र समान शिक्षाको सुविधाबाट बञ्चित भएका छन्। व्यवस्थापकीय कमजोरी, जनशक्ति अभाव र सञ्चालन बजेटको कमीका कारण दुवै संरचना प्रयोगविहीन जस्तै बनेका हुन्।
क्याम्पसमा करिब १० वर्षअघि स्थापना गरिएको विद्युतीय पुस्तकालय अध्ययन–अध्यापनमा ई–बुक, जर्नल, रिसर्च पेपर र अनलाइन डाटाबेसको प्रयोग बढाउने उद्देश्यले सुरु गरिएको थियो। पुस्तकालयमा २० वटा कम्प्युटरसहित इन्टरनेट र अन्य विद्युतीय उपकरण जडान गरिएका छन्। तर प्राविधिक जनशक्ति अभाव र व्यवस्थापकीय कमजोरीका कारण पुस्तकालय पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
लाइब्रेरी हेर्ने जिम्मा पाएका क्याम्पसका शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख डा. श्यामप्रसाद वाग्लेले त्रिभुवन विश्वविद्यालयबाट आवश्यक कर्मचारी व्यवस्थापन नभएको कारण पुस्तकालय सञ्चालनमा समस्या भएको बताए। उनका अनुसार अधिकृत स्तरको लाइब्रेरियन आवश्यक भए पनि हाल त्यस्तो जनशक्ति छैन। 'पुराना कर्मचारीले छोडिसके, नयाँ नियुक्ति भएको छैन। कम्प्युटर अपरेटरबाटै सामान्य काम चलाउनुपरेको छ,' उनले भने।
धनकुटा बहुमुखी क्याम्पसका कार्यसमिति सदस्य-सचिव उपप्राध्यापक कृष्णगोविन्द अधिकारीले नियमित नभए पनि विद्यार्थी र प्राध्यापकहरूलाई आवश्यक पर्दा विद्युतीय लाइब्रेरी सञ्चालन गर्ने गरिएको बताए। उनले 'आवश्यक पर्दा यहाँबाट काम चलिरहेको' जनाए ।
यस्तै, फरक क्षमता भएका विद्यार्थीलाई अध्ययनमा समान अवसर प्रदान गर्न चार वर्षअघि स्थापना गरिएको अपाङ्गता विद्यार्थी सहायता केन्द्र अहिलेसम्म सञ्चालनमै आउन सकेको छैन। दाताहरूको सहयोगमा स्थापना गरिएको उक्त केन्द्रमा सहायक उपकरण, अपाङ्गमैत्री पूर्वाधार र शौचालयको व्यवस्था गरिए पनि प्रयोगमा आउन नसकेको हो। केन्द्र रहेको स्थानमा ह्विलचेयर पुग्ने सहज पहुँच समेत छैन । केन्द्रमा राखिएका कम्प्युटर, डिस्प्ले मोनिटर लगायतका विद्युतीय उपकरण धुलोले छोपेको छ।
धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतका अनुसार काठमाडौंको महेन्द्ररत्न क्याम्पस ताहचल, पोखराको पृथ्वीनारायण क्याम्पस र धनकुटा बहुमुखी क्याम्पसमा एकैसाथ यो कार्यक्रम सुरु गरिएको थियो। तर उद्देश्यअनुसार सञ्चालन हुन नसकेको उनले स्वीकार गरे। 'दाताबाट उपकरण आए पनि सञ्चालनका लागि बजेट छैन। उपकरणको लागतबारे पनि हामीलाई विस्तृत जानकारी छैन,' उनले भने। आवश्यक फर्निचरको व्यवस्थापन भने क्याम्पसले नै गरेको उनले बताए।
केन्द्रमा राखिएका कम्प्युटर, ल्यापटप र डिजिटल डिस्प्ले बोर्ड प्रयोगविहीन छन्। उपकरण बिग्रने जोखिमका कारण केही ल्यापटप प्राध्यापकहरूले प्रयोग गरिरहेका छन् भने केही कम्प्युटर परीक्षा शाखामा सारिएको बस्नेतले बताए।
विद्यार्थीहरूले पनि दुवै केन्द्र सञ्चालनमा नआउँदा आफूहरू लाभान्वित हुन नसकेको गुनासो गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापति युवा तिम्सिनाले विद्यार्थीमा अझै पनि भौतिक पुस्तकमा निर्भर रहने प्रवृत्ति रहेको र प्रविधि प्रयोगमा चासो कम भएको बताए। साथै क्याम्पस प्रशासनले विद्युतीय पुस्तकालयको महत्त्वबारे पर्याप्त अभिमुखीकरण गर्न नसकेको उनको भनाइ छ।
क्याम्पस प्रशासन र व्यवस्थापनले प्रविधिमूलक संरचनाको प्रभावकारी उपयोगमा पहल नगर्दा आधुनिक अध्ययन प्रणालीबाट विद्यार्थी टाढा रहन बाध्य भएका छन्। दुवै केन्द्र सञ्चालनका लागि प्राविधिक जनशक्ति व्यवस्थापन, नियमित बजेट विनियोजन र प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको विद्यार्थीको गुनासो छ।
धनकुटा बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमा पदेन सदस्य रहेका धनकुटा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मिलन कुमार खड्गीले २०७९ साल यता जम्मा दुईटा बैठकमा मात्रै आफू उपस्थित भएको बताए । उनले क्याम्पसको गिर्दो व्यवस्थापनका बारेमा चासो भएपनि क्याम्पस व्यवस्थापनले यस विषयमा छलफलमा नडाकेको जनाए । खड्गीले भने 'म २०७९ सालदेखि नै क्याम्पस व्यवस्थापन समितिको पदेन सदस्य छु। तर यो अवधिमा जम्मा दुईवटा बैठकमा मात्रै मलाई बोलाइएको छ।'
उता क्याम्पस व्यवस्थापन समितिका सदस्य समेत रहेका कोशी प्रदेश सभा सदस्य निरन राईले क्याम्पसको शैक्षिक र व्यवस्थापकीय सुधार आवश्यक रहेको जनाएका छन् । उनले क्याम्पसको शैक्षिक गुणस्तर र व्यवस्थापकीय पक्षमा गहिरो अनुगमन र अध्ययन आवश्यक रहेको जनाए । उनले भने, 'केही दिनमै सरोकवारवालालाई लिएर क्याम्पसको अध्ययन र अनुगमनमा जाने योजनामा छु।'
