भेडेटारस्थित इलाका प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश श्रेष्ठका अनुसार सडक खुलाउन अझै केही दिन लाग्न सक्ने सम्भावना छ।
धनकुटा — सुख्खा पहिरो झर्ने क्रम नरोकिँदा भेडेटार–रवि–राके सडक आयोजनाअन्तर्गत भेडेटार–नाम्जे खण्ड शुक्रबारदेखि अवरुद्ध भएको छ।
सडक खुलाउन स्थानीय प्रहरी, साँगुरीगढी गाउँपालिका र निर्माणको जिम्मा पाएको भारतको एपको इन्फ्राटेक निर्माण कम्पनीले उपकरण र जनशक्ति तयारी अवस्थामा राखे पनि भिरबाट ढुंगा, माटो र रुख झर्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भइरहेको हो।
भेडेटारस्थित इलाका प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश श्रेष्ठका अनुसार सडक खुलाउन अझै केही दिन लाग्न सक्ने सम्भावना छ। उनका अनुसार गेग्रान र पहिरो झर्ने क्रम जारी रहेकाले उपकरण सञ्चालन गर्न समेत कठिनाइ भइरहेको छ।
भेडेटार–रवि–राके सडक खण्ड हुँदै धनकुटाको राजारानी, वडा नं. ६ बुधबारे हुँदै पाँचथर र इलामसम्मका यात्रु तथा ढुवानीका सवारी साधन आवतजावत गर्ने गर्दछन्।
उक्त स्थानमा झरेको पहिरो तत्काल पन्छाएर सडक सञ्चालन गर्ने अवस्था नभएपछि स्थानीय प्रशासनले यात्रु तथा ढुवानीका सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
