स्थापना दिवसका अवसरमा तीनै गाउँपालिकाले सामाजिक, शैक्षिक तथा प्रशासनिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरेका छन्।
धनकुटा —
जिल्लाका तीन स्थानीय तहले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएका छन्।
धनकुटाको साँगुरीगढी गाउँपालिकाले दसौं स्थापना दिवस तथा छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकाले नवौँ स्थापना दिवस मनाएका हुन्।
स्थापना दिवसका अवसरमा तीनै गाउँपालिकाले सामाजिक, शैक्षिक तथा प्रशासनिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरेका छन्। सेवानिवृत्त शिक्षक, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको गाउँपालिकाहरूले जनाएका छन्।
शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्र सबैभन्दा बढी विद्यार्थीलाई एसईई उत्तीर्ण गराउन सफल विद्यालयका प्रधानाध्यापकलाई विशेष सम्मान गरिएको छ। त्यस्तै, गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ। स्थापना दिवसका कार्यक्रमहरूमा स्थानीय संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
यसैबीच साँगुरीगढी गाउँपालिकाको प्रचार–प्रसारमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका धनकुटा संवाददाता ईश्वर थापालाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले स्थापना दिवसले स्थानीय तहको विकास यात्रा, उपलब्धि र आगामी योजनाबारे समीक्षा गर्ने अवसर प्रदान गरेको बताएका छन्। साथै, जनताको सहभागिता र सहकार्यबाट स्थानीय विकासलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
