निजी तथा सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारी, व्यवसायी र मजदुरसमेत मतदानमा सहभागी हुन गाउँ जाने क्रम जारी छ ।
धनकुटा — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनकुटा सदरमुकाममा चहलपहल घटेको छ। मतदानका लागि मतदाता आ–आफ्नो गाउँ फर्किन थालेपछि बजार क्षेत्र सुनसानजस्तै देखिन थालेको हो । सरकारी कार्यालयमा कर्मचारी र सेवाग्राही पनि छैनन् ।
फागुन २१ मा हुने निर्वाचनका लागि समयमै पुग्नुपर्ने भन्दै धेरै मतदाता मंगलबार नै गाउँतिर लागेका हुन् । भोलि सवारीसाधन अभाव हुनसक्ने अनुमान गर्दै सर्वसाधारण आजै गाउँ फर्किएको थरेन्द्र राइले बताए । उनी अध्ययनका लागि सदरमुकाम बस्दै आएका छन् । उनले आफ्ना साथीहरू पनि केही दिनका लागि पढाइ स्थगित गरी घर फर्किएको जनाए।
निजी तथा सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारी, व्यवसायी र मजदुरसमेत मतदानमा सहभागी हुन गाउँ जाने क्रम जारी छ । धनकुटामा बसेर पत्रकारिता गर्दै आएका मुगाका सन्तोष सुवेदीले पनि मतदानका लागि गाउँ फर्कँदै गरेको जनाए ।
मुख्य बजार क्षेत्र, बसपार्क, प्रशासनिक क्षेत्रका सडकमा सामान्य दिनको तुलनामा कम आवतजावत देखिएको छ । कार्यालयहरु सुनसान छन् । होटल तथा किराना पसलमा ग्राहकको संख्या घटेको व्यवसायीहरू बताउँछन् ।
यातायातका साधनमा भने यात्रुको चाप बढेको छ । जिल्लामा यसपटक १ सय १९ मतदानस्थलअन्तर्गत १ सय ६६ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र तोकिएका छन्। कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
