माघ महिनाका लागि पठाइएको २ सय डोज खोप सकिएको र नयाँ नआएको धनकुटा अस्पतालका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिए।
What you should know
धनकुटा — धनकुटामा पछिल्लो समय कुकुरको टोकाइका घटना बढ्दै जाँदा रेविजविरुद्धको खोप अभाव भएको छ।
माघ महिनाका लागि पठाइएको २ सय डोज खोप सकिएको र नयाँ नआएको धनकुटा अस्पतालका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिए।
उनका अनुसार खोप सुरु गरिसकेका बिरामीलाई कोर्स पूरा गराउन केही डोज जोगाइए पनि नयाँ बिरामीका लागि अस्पतालबाट खोप उपलब्ध गराउन नसकिने अवस्था छ। 'दैनिक ८ देखि १० जनासम्म रेविजविरुद्धको खोपका लागि अस्पतालको सम्पर्कमा आउने गरेका छन्,' खतिवडाले भने, 'तर अभावका कारण खोप उपलब्ध गराउने अवस्था छैन ।'
कुकुरको टोकाइबाट घाइते भई अस्पताल पुगेका धनकुटा–७ का जसमणि राईले अस्पतालमा खोप नपाएपछि निजी मेडिकलबाट किन्नु परेको गुनासो गरे। उनी आइतबार दिउँसो उपचारका लागि धनकुटा अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। 'सरकारी अस्पतालमा निःशुल्क पाइने भनेको खोप बाहिर किन्नुपर्दा खर्च थपियो,' उनले भने।
कोशी प्रदेशका सरकारी स्वामित्वका अस्पतालमा रेविजविरुद्धको खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत निःशुल्क उपलब्ध गराउने व्यवस्था छ। तर विराटनगर केन्द्रमै खोप अभाव भएपछि जिल्लामा आपूर्ति हुन सकेको छैन ।
कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त निर्देशक डा. सुरेश मेहताले रेविजविरुद्धको खोप संघीय सरकारमार्फत आउने भए पनि हालसम्म उपलब्ध नभएको बताए। 'अन्य प्रदेशले खोप आफै खरिद गरेका छन्, तर कोशी प्रदेशले खरिद गरेको छैन। संघबाट समेत खोप आएको छैन। तत्काल आउने सम्भावना कम छ, तर माग गरेका छौं,' उनले भने, 'केन्द्रमा करिब २ सय डोज मात्र बाँकी रहेको छ, जुन सम्भावित महामारीका लागि सुरक्षित राखिएको छ ।'
खोप अभावसँगै कुकुरको टोकाइका घटना बढ्दा सर्वसाधारण त्रसित बनेका छन्। उनीहरुले खोप आपूर्ति र उपलब्धता सुनिश्चित गर्न आग्रह गरेका छन्।
