मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी इन्दिरा खड्कालाई दिइएको छ ।
धनकुटा — धनकुटाको एक मतदान केन्द्रमा निर्वाचनका लागि महिला कर्मचारी मात्रै खटिने भएका छन् ।
धनकुटा नगरपालिका ६ कचिडेमा रहेको आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म सबै महिला खटाइएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी इन्दिरा खड्कालाई दिइएको छ । उपसचिव खड्का शिक्षा बिकास तथा समन्वय इकाइ धनकुटा कि प्रमुख हुन ।
सहायक मतदान अधिकृतमा निलुशा अधिकारी, सहायक कर्मचारीका रूपमा रिता पाण्डे, रमा ढुंगाना र अम्बिका राई छन् । सहयोगी कर्मचारीका रूपमा सीता राई खटिने छिन् । धनकुटा १ सय ६६ मतदान केन्द्रमा मतदानका लागि उपसचिव, शाखा अधिकृत तथा अधिकृत छैटौं तहका कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
सहायक मतदान अधिकृतमा नायब सुब्बास्तरका कर्मचारी, सहायक कर्मचारीमा खरिदारस्तरका कर्मचारी र शिक्षक तथा सहयोगी कर्मचारीका रूपमा कार्यालय सहयोगीहरू परिचालन गरिएको छ । धनकुटामा निर्वाचनका लागि १ हजार २ जना कर्मचारी खटिने छन् ।
१ लाख १८ हजार ४ सय २५ जना मतदाता रहेको धनकुटामा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाले उमेदवार मैदानमा छन् ।
