नगरपालिकाले प्रारम्भिक चरणमा दुई जना पुरुषलाई 'बाँदर हेरालु' नियुक्त गरी परिचालन गरेको नगरप्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए।
धनकुटा — बालीनालीमा बढ्दो क्षति भएपछि धनकुटाको पाख्रीवास नगरपालिकाले बाँदर नियन्त्रणका लागि दैनिक ज्यालादारी कर्मचारी खटाएको छ।
नगरपालिकाले प्रारम्भिक चरणमा दुई जना पुरुषलाई 'बाँदर हेरालु' नियुक्त गरी परिचालन गरेको नगरप्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए। उनीहरुलाई गमबुट, टर्च, गुलेली र लौरो उपलब्ध गराएर गस्तीमा परिचालन गरिएको उनले बताए ।
उनका अनुसार बाँदर तथा अन्य वन्यजन्तुले दुःख दिए स्थानीयले सम्बन्धित वडाध्यक्षलाई खबर गर्नुपर्नेछ। वडाध्यक्षमार्फत हेरालुहरू परिचालन हुने व्यवस्था गरिएको छ।
पाख्रीवासमा १० वटा वडा छन्। 'जनशक्ति कम भएको भनेर जिस्काउलान्, तर अहिले यो ट्रायलका रूपमा सुरु गरेका हौं । प्रभावकारी देखिए जनशक्ति थप्छौं,' नगरप्रमुख गुरुङले भने।
पछिल्लो समय मकै, आलु, तरकारी तथा फलफूल खेतीमा बाँदरले ठूलो क्षति पुर्याउँदै आएको किसानहरूको गुनासो बढेपछि नगरपालिकाले यस्तो जुक्ति निकालेको हो। 'कामकाजमा व्यस्त किसानले दिनभरि बाँदर रुग्न भ्याउँदैनन्। किसानको मुख्य आम्दानी नै खेती हो,' गुरुङले भने, 'त्यसैले बाली जोगाउन तत्काल कदम चाल्नुपरेको हो ।'
नगरपालिकाले बाँदर बढी सक्रिय हुने समयमा हेरालुले किसानसँगै गस्ती गर्नेछन् । हेरालुले बाँदरको रेकी गरी किसानलाई खबर समेत गर्नुपर्ने नगरपालिकाले जनाएको छ । हेरालुले सिटी बजाउने, टिनका भाँडा तथा ढोल बजाउने, गुलेली प्रयोग गर्नेछन् । केही स्थानमा जाली तथा घेरबार गर्न प्राविधिक सल्लाहसमेत दिइएको नगरपालिकाले जनाएको छ ।
