कार्यविधि स्वीकृत नहुँदा आठपहरिया संग्रहालय सञ्चालनमा आउन सकेन

आठपहरिया समुदायको मौलिक पहिचान, संस्कार–संस्कृति र ऐतिहासिक विरासत संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण सुरु गरिएको हो।

फाल्गुन ७, २०८२

विनोद घिमिरे

Aathpahariya Museum could not be opened due to lack of approval of working procedures

What you should know

धनकुटा — धनकुटा बजारस्थित बिहीबारे हाट नजिक निर्माणाधीन आठपहरिया संग्रहालय सञ्चालनमा आउँन अझै केही समय लाग्ने भएको छ ।  भवन निर्माण कार्य अन्तिम चरणमा पुगे पनि आन्तरिक व्यवस्थापन र सञ्चालन कार्यविधि स्वीकृत भइनसकेकाले प्रदर्शनी खुला गर्न अझै केही समय लाग्ने भएको हो ।

सञ्चालन मोडालिटी, सामग्री संकलन, सञ्चालन स्वामित्व लगायतका संरचनागत तयारी अपुग हुँदा संग्रहालय  सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने भएको धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले बताए । प्रक्रियागत र निर्माणको काम टुंग्याएर चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ ।

आठपहरिया समुदायको मौलिक पहिचान, संस्कार–संस्कृति र ऐतिहासिक विरासत संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण सुरु गरिएको हो। विशेषगरी धनकुटा तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका सीमान्तकृत आठपहरिया समुदायको जीवनशैली, परम्परागत भेषभूषा, बाजागाजा, कृषि औजार, घरेलु सामग्री तथा धार्मिक–सांस्कृतिक अभ्यासलाई एकै थलोमा अभिलेखीकरण गर्ने लक्ष्य राखिएको छ।

संग्रहालय निर्माण अहिलेसम्म करिब ३ करोड रुपैयाँ लगानी भइसकेको धनकुटा नगरपालिकाका योजना प्रशासन तथा अनुगमन अधिकृत सीताराम गौतमले बताए । गौतमले आँगनको केही र इन्टेरियरको काम बाँकी रहेको जनाए । 

संग्रहालयमार्फत नयाँ पुस्तालाई आफ्नै पहिचानबारे जानकारी दिने, लोपोन्मुख परम्परालाई जगेर्ना गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय तह र समुदायको सहकार्यमा निर्माण अघि बढाइएको यो परियोजनाले धनकुटाको सांस्कृतिक विविधतालाई थप उजागर गर्ने किँरात आठपरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरिया राईले बताए । भवनभित्रको डिस्प्ले व्यवस्थापन, सुरक्षा प्रबन्ध, अभिलेख राख्ने प्रणाली र व्यवस्थापन समिति गठन प्रक्रिया पनि अझै पूर्ण हुन नसकेको उनले जनाए । संग्रहालय सञ्चालनका लागि स्पष्ट कार्यविधि, कर्मचारी व्यवस्थापन र दीर्घकालीन आर्थिक स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता ती काम सकेर चालू आर्थिक बर्ष भीत्रै औपचारिक रूपमा उद्घाटन गरिने धनकुटा नगरपालिकाले जनाएको छ । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully