सुधार केन्द्रबाट भागेका १२ मध्ये ३ जना फर्काइए, ९ जनाको खोजी जारी

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले तीन जनालाई पुनः सुधार केन्द्रमै पुर्‍याइएको जानकारी दिएका छन् ।

फाल्गुन ३, २०८२

विनोद घिमिरे

धनकुटा — धनकुटा नगरपालिका ५ कर्मिटारस्थित सुनौलो जीवन सुधार केन्द्रबाट बिहीबार बिहान फरार भएका १२ जनामध्ये ३ जना पुनः सम्पर्कमा आएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले तीन जनालाई पुनः सुधार केन्द्रमै पुर्‍याइएको जानकारी दिएका छन् । 

केन्द्रमा लागुऔषध तथा मादक पदार्थ सेवनको लतबाट छुटकारा दिलाउन राखिएका ३० जनामध्ये बिहीबार बिहान १२ जना एकैसाथ बाहिरिएका थिए । घटनापछि प्रहरीले खोजी तीव्र पारेको थियो । 

एसपी थापाका अनुसार बाँकी ९ जनाको खोजी कार्य जारी छ। कतिपय परिवारका सदस्यहरूको सम्पर्कमा आएको सूचना प्राप्त भएको छ, तर सबैलाई केन्द्रमा फर्काउने पहल भइरहेको उनले बताए ।  

फरार व्यक्तिहरूको अवस्थाबारे परिवार र स्थानीय तहसँग समन्वय गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully