कार्यसम्पादनमा धनकुटामा साँगुरीगढी पहिलो

आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार साँगुरीगढीले ६६.५२ अंक प्राप्त गर्दै सात स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो ।

फाल्गुन २, २०८२

विनोद घिमिरे

What you should know

धनकुटा — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा धनकुटाको साँगुरीगढी गाउँपालिका जिल्लामै पहिलो स्थानमा परेको छ।

आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार साँगुरीगढीले ६६.५२ अंक प्राप्त गर्दै सात स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो ।

जिल्लामा धनकुटा नगरपालिका ६४.०५ अंकसहित दोस्रो, चौबिसे गाउँपालिका ६३.१६ अंकसहित तेस्रो, महालक्ष्मी नगरपालिका ६३.१२ अंकसहित चौथो, सहिदभूमि गाउँपालिका ५७.९ अंकसहित पाँचौं र पाख्रिबास नगरपालिका ४३.५९ अंकसहित छैटौं स्थानमा परेका छन् । सबैभन्दा कमजोर प्रदर्शन देखिएको छथरजोरपाटी गाउँपालिका ३९.६४ अंकसहित सातौं स्थानमा परेको छ ।

स्थानीय तहको वित्तीय अनुशासन, सेवा प्रवाह, सामाजिक सूचक र प्रशासनिक व्यवस्थापनलगायत विभिन्न आधारमा गरिएको मूल्यांकनमा साँगुरीगढी अन्य स्थानीय तहभन्दा अगाडि देखिएको आयोगले जनाएको छ।

मूल्यांकनमा राजस्व परिचालनको अवस्था, बजेट खर्च प्रगति, बेरुजु व्यवस्थापन, सूचना सफ्टवेयरको प्रयोग, शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सूचक, विद्यार्थी भर्ना दर, कक्षा १ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसईई परीक्षा नतिजा तथा खोप लगाएका बालबालिकाको अनुपातलाई आधार बनाइएको छ।

आयोगका अनुसार कार्यसम्पादन मूल्यांकन स्थानीय तहको संस्थागत क्षमता र सेवा प्रभावकारिता मापन गर्ने आधार हो। यसले स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा बढाउने, वित्तीय अनुशासन कायम राख्ने र सेवा प्रवाह सुधार गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ। आयोगले स्थानीय तहको मूल्यांकनका लागि कुल १७ वटा सूचक प्रयोग गरेको जनाएको छ।

जसमा समयसीमाभित्र बजेट सार्वजनिक गरे, नगरेको, असार मसान्तभित्र बजेट पारित गरेको, नगरेको, वित्तीय पारदर्शिता, घरजग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट संकलित राजस्वको ४० प्रतिशत हिस्सा प्रदेश सरकारलाई मासिक रूपमा दाखिला गरे, नगरेको, बजेट प्रक्षेपणसहित विवरण मन्त्रालयमा बुझाएको, बजेट समीक्षा सार्वजनिक गरे, नगरेको अवस्थालाई मूल्यांकनको आधार बनाउने गरेकाे छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully