कोकाहा खोलामा सयौंले गरे त्रिपिंडी श्राद्ध 

'लडी मरेका, झुन्डी मरेका तथा ज्ञातअज्ञात आत्माले दुःख नदिउन् भन्ने विश्वासका साथ त्रिपिंडी श्राद्ध गरिन्छ'

फाल्गुन १, २०८२

विनोद घिमिरे

धनकुटा — हिन्दु धर्मावलम्बीहरूले सुनसरीस्थित कोकाहा खोलामा शुक्रबार त्रिपिंडी श्राद्ध गरेका छन् । अकालमा मृत्यु भएका तथा दशगात्र कर्म गर्न नपाएका आफन्तहरूको आत्माको चीरशान्तिको कामनाका गर्दै परम्पराअनुसार यस वर्ष पनि सयौं श्रद्धालु सहभागी भएका हुन् ।

धनकुटा, सुनसरी र तेह्रथुम जिल्लाबाट आएका श्रद्धालुहरू बिहानैदेखि नदी किनारमा भेला भई तर्पण, पिण्डदान गरेका थिए । धनकुटाको महालक्ष्मीका पुरोहित लक्ष्मण सुवेदीका अनुसार मृतकको दोष निवारण तथा आत्माको शान्तिका लागि त्रिपिंडी श्राद्ध गर्ने चलन छ । 'जौ, तिल र चामलको पिठोबाट पिण्ड तयार गरी तर्पण गरिन्छ । लडी मरेका, झुन्डी मरेका तथा ज्ञातअज्ञात आत्माले दुःख नदिउन् भन्ने विश्वासका साथ यो श्राद्ध गरिन्छ,' सुवेदी भने ।

कुश, तिल र जलसहित मन्त्र उच्चारण गरेर गरिने यस कर्मले दिवंगत आत्मालाई शान्ति मिल्ने धार्मिक विश्वास छ । कार्तिक, मंसिर, पुस, माघ र फागुन महिनामा विशेष रूपमा यो श्राद्ध गर्ने गरिन्छ । पञ्चमी, अष्टमी र एकादशी तिथिमा पारेर कोकाहा खोलामै यस्तो अनुष्ठान गर्ने परम्परा छ । अर्का पुरोहित मोरङको केरौनका भवानी सुवेदीले पितृहरू सन्तुष्ट भए परिवारमा सुख, शान्ति र समृद्धि आउने जनविश्वासका रहेको बताए ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully