धरान–धनकुटा सडकको घुम्तीमा राखिएका ऐना तोडफोड

अज्ञात समूहले २० भन्दा बढी कन्भेक्स ट्राफिक ऐना फुटाएर फाल्नुका साथै अड्याइएका डण्डासमेत भाँचिदिएको स्थानीयले बताएका छन् ।

माघ २९, २०८२

विनोद घिमिरे

धनकुटा — कोशी राजमार्ग अन्तर्गत धरान–भेडेटार–धनकुटा सडकखण्डका जोखिमयुक्त घुम्तीमा दुर्घटना न्यूनीकरणका लागि जडान गरिएका ऐना तोडफोड भएको पाइएकाे छ ।

अज्ञात समूहले २० भन्दा बढी कन्भेक्स ट्राफिक ऐना फुटाएर फाल्नुका साथै अड्याइएका डण्डासमेत भाँचिदिएको स्थानीयले बताएका छन् ।

उक्त सडक खण्ड साँघुरो, मोड तथा उकालो–ओरालोयुक्त भएकाले दुर्घटनाको जोखिमयुक्त मानिन्छ । बर्खायाममा बाक्लो कुहिरो लाग्ने र सवारी तथा ढुवानीको चाप बढ्ने हुँदा चालकलाई सवारी सञ्चालन गर्न थप कठिन हुने गरेको छ ।

स्थानीय क्लब तथा समूहले रकम संकलन गरी घुम्तीमा विपरीत दिशाबाट आउने सवारी देख्न मिल्ने गरी सुरक्षा ऐना जडान गरेका थिए । कन्भेक्स प्रकारका यी ऐनाले फराकिलो दृश्य देखाउने भएकाले दुर्घटना रोकथाममा सहयोग पुग्दै आएको थियो ।

चालक ज्ञानबहादुर कटवालले ऐना हुँदा घुम्तीमा आउँदै गरेको सवारी पहिले नै देखेर सावधानी अपनाउन सकिने भए पनि अहिले गाडी चलाउन असहज भएको बताए।

सार्वजनिक सुरक्षासँग जोडिएको सामग्री तोडफोड गरिनुले दुर्घटना जोखिम बढाएको भन्दै स्थानीयले दोषीमाथि कारबाही र पुनः ऐना जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully