धनकुटाका १ हजार २ सय ८६ किशोरीलाई एचपीभी खोप दिइने

पूर्ण खोप सुनिश्चितता अभियान अन्तर्गत विद्यालय केन्द्रित कार्यक्रम माघ २७ देखि २९ गतेसम्म सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

माघ २३, २०८२

विनोद घिमिरे

HPV vaccination to be given to 1,286 teenage girls in Dhankuta

धनकुटा — धनकुटामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

पूर्ण खोप सुनिश्चितता अभियान अन्तर्गत विद्यालय केन्द्रित कार्यक्रम माघ २७ देखि २९ गतेसम्म सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रमबाट जिल्लाका १ हजार २ सय ८६ जना किशोरी लाभान्वित हुने अपेक्षा गरिएको छ । तीमध्ये १ हजार २ सय ५७ जना विद्यालयमा अध्ययनरत विद्यार्थी र २९ जना विद्यालय बाहिरका किशोरी तथा बालिका रहेका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख सिर्जना बन्जाडेका अनुसार १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ । कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीलाई पनि खोप दिइने व्यवस्था मिलाइएको छ ।

गत वर्ष धनकुटामा ६ हजार ९ सय ११ जनालाई एचपीभी खोप दिइएको थियो । खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य कार्यालयको भनाइ छ ।

बन्जाडेले समयमै स्क्रिनिङ गरेमा क्यान्सर पहिचान र उपचार सम्भव भए पनि समुदायमा स्क्रिनिङ दर निकै कमजोर रहेको बताइन् । उनका अनुसार धनकुटामा हाल जम्मा ४ प्रतिशत मात्रै स्क्रिनिङ सफल भएको छ । लाज, संकोच तथा खोपसम्बन्धी भ्रमका कारण महिलाहरू जाँच तथा खोप कार्यक्रममा सहभागी हुन नसकिरहेको उनले उल्लेख गरिन् ।

स्वास्थ्य कार्यालयले अभिभावक, विद्यालय र समुदायलाई खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully