नाम्जेको ग्रामीण जनता माविमा दातालाई सम्मान

विद्यालयको शैक्षिक गुणस्तर सुधार र गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न दाताबाट प्राप्त आर्थिक सहयोगका लागि सम्मान गरिएको हो।

माघ २३, २०८२

विनोद घिमिरे

Donor honored at Namje's Rural People's Secondary School

धनकुटा — सागुरीगढी गाउँपालिका–६ नाम्जे स्थित ग्रामीण जनता माध्यमिक विद्यालयमा दाता सम्मान, छात्रवृत्ति वितरण तथा शिक्षक विदाइ कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार र गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न दाताबाट प्राप्त आर्थिक सहयोगका लागि सम्मान गरिएको हो।

विद्यालय विकास कोषमा मैतबहादुर–कमला मोक्तानले १ लाख ५० हजार १ सय ११, भीम घिमिरेसहितका चार जनाले संयुक्त रूपमा १ लाख ५० हजार तथा बेदबहादुर भुजेल र शिक्षक राजकुमार माङलाकले जनही २० हजार रुपैयाँ सहयोग गरेका छन्।

शम्भु प्रसाद भण्डारी, तुल्सीराम–रमादेवी दिनेश र मैतबहादुर–कमला तामाङ छात्रवृत्ति अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। साथै ६ लाख ५० हजारको अक्षयकोषबाट वार्षिक १० जना विद्यार्थीलाई ५० हजार रुपैयाँका दरले सहयोग गर्दै आएको विद्यालयले जनाएको छ।

गाउँपालिका अध्यक्ष कोषबाट होटल म्यानेजमेन्ट अध्ययनरत ४ जनालाई ८० हजार रुपैयाँ प्रदान गरिएको थियो। कार्यक्रममा पूर्वसहायक प्रधानाध्यापक लोकबहादुर कटवाल र संयोजक नरबहादुर चेम्जोङलाई विदाइ सम्मान गरिएकाे छ भने राधाकुमारी बरुवाल र विकास श्रेष्ठलाई पनि सम्मान गरिएको छ।

प्रमुख अतिथि जितेन्द्र रुम्दाली राईले सामुदायिक विद्यालयको विकासमा दाताको योगदान प्रेरणादायी रहेको बताए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully