हरेक चुनावमा बाँदर नियन्त्रण गर्ने, तारबार हाल्ने, क्षतिपूर्ति दिने, वन्यजन्तु व्यवस्थापन गर्ने प्रतिबद्धता दोहोरिन्छ। तर चुनाव सकिएपछि समस्या उस्तै रहने किसानको अनुभव छ।
What you should know
धनकुटा — धनकुटा पाख्रीवास–३ पन्चकन्या टोलकी बिन्द्रमाया राई बिहान घाम झुल्कनु अघि नै खेतबारीतिर लाग्छिन् । उनको बाली बिरुवा स्याहार्नु भन्दा बादँर धपाउने काम मुख्य हुन्छ ।
दिनभरि गुलेली, म्ट्याङ्ग्रा र लौरो बोकेर गस्ती नगरे एकछिनमै मकै, आलु, सुठुनी, तरकारी केही बाँकी नराख्ने उनी बताउँछिन्। 'खेती गर्नुभन्दा बाँदर गोठालो गर्नेकाम ठूलो छ,' उनले भनिन्, 'एकछिन छोड्यो भने सबै सखाप पार्छ।' बिन्द्रमायाको घर बस्तीको पुछारमा छ । जंगलबाट निस्कने बित्तिकै बाँदर उनकै खेतबारीमा पुग्छन् ।
पाख्रीवासकै ओख्रे गाउँकी सरिता जिमीको अवस्था पनि उस्तै छ। पहिले मकै र स्कुसमा मात्रै सीमित बाँदरले अहिले लसुन, प्याज र अलैंचीसम्म नोक्सान गर्न थालेको उनी बताउँछिन्। 'बाली जोगाएर पाकाउनै मुस्किल छ,' उनले भनिन्, 'अलैंची र लसुन समेत उखेलेर फाल्छ ।'
बिन्द्रमाया र सरिता बाँदरको दु:खले सताइएका प्रतिनिधि पात्र मात्रै हुन्। धनकुटाका अधिकांश गाउँमा किसानको दैनिकी नै बाँदर धपाउँदै बित्ने गरेको छ। उनीहरुलाई बाली लगाउनेभन्दा जोगाउने चिन्ता बढी छ । बाँदरको समस्या र भैरहेको क्षतिले धेरै किसान निरास छन्।
तेलियाका मेघराज खतिवडाका पहिले १५ जनाको परिवार पालिएको खेत अहिले बाँझै छाड्नु परेको बताउँछन् । 'खेती गरेर खान सकिने अवस्था रहेन, बाँदर घरसम्मै पसेर अन्न खोज्छ,' उनले भने । जनशक्ति अभावको समस्या झेल्दै लगाइएको बाली वन्यजन्तुबाट जोगाउनै नसक्ने अवस्था भएको उनले सुनाए । बाँदरको आतंकले गाउँको रैथाने उत्पादन घट्दै गएको छ । कतिपय किसानले कम जोखिमका बाली रोजेका छन् । खाली जग्गामा रुख हुर्कन छोडिदिँदा बाँदर झन फैलिएको उनले जनाए ।
चुनाव नजिकिँदै जाँदा भने नेताहरू गाउँ–गाउँ पुगेर विकासका आश्वासन बाँडिरहेका छन्। हरेक चुनावमा बाँदर नियन्त्रण गर्ने, तारबार हाल्ने, क्षतिपूर्ति दिने, वन्यजन्तु व्यवस्थापन गर्ने प्रतिबद्धता दोहोरिन्छ। तर चुनाव सकिएपछि समस्या उस्तै रहने किसानको अनुभव छ। 'पाँच वर्षअघि पनि यही कुरा सुन्यौं, अहिले फेरि उही भाषण गर्छन्,' अगुवा कृषक खतिवडाले भने, 'जितेपछि गाउँ नै बिर्सिन्छन्।'
यसपटक पनि उम्मेदवारहरूले बाँदर आतंकलाई चुनावी मुद्दा बनाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मराज पौडेलले कानुन परिमार्जन गरेर बाँदर नियन्त्रण गर्ने र बाँदरलाई व्यावसायिक रूपमा पालेर मासु तथा सुकुटी विदेश निर्यात गर्ने योजना अघि सारेका छन्।
उनले पत्रकार सम्मेलन गरेर बाँदरको मासु र सुकुटी बिदेश निर्यात गर्न सकिने घोषणा गरेका छन् । कांग्रेसका उम्मेदवार दिनेश राई र एमालेका उम्मेदवार राजेन्द्र राईले पनि किसानका बाली जोगाउन विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्। स्वतन्त्र उम्मेदवारहरूले समेत किसानका समस्या समाधानलाई मुख्य एजेन्डा बनाएका छन्।
दलका घोषणापत्रमा सडक, पुल र भवन जस्ता ठूला योजना प्राथमिकतामा पर्ने भए पनि किसानको दैनन्दिन समस्या ओझेलमा परेको गुनासो उनीहरूको छ। 'खेती गरेर नाफा होइन, घाटा मात्रै भयो,' तेलियाका अर्का किसान डिकबहादुर गीरीले गुनासो गरे ।
धेरै वर्षदेखि किसान र बाँदरबीचको द्वन्द्व रहँदै आए पनि पछिल्लो समय यसको प्रभाव झन् गहिरो बन्दै गएको छ। गाउँ खाली हुँदै छन्, खेत बाँझो बन्दै छन् र उत्पादन घट्दै गएको छ। चुनावअघि मात्रै उठ्ने बाँदर नियन्त्रणको मुद्दा व्यवहारमा कहिले रूपान्तरण हुन्छ भन्ने प्रतीक्षामा धनकुटाका किसान छन्।
