धनकुटामा मतदातालाई विश्वस्त बनाउँदै निर्वाचन व्यवस्थापन समिति

सुरक्षा प्रमुहरूको टोलीद्वारा मतदान स्थल र केन्द्रमा पुगेर स्थानीय जनप्रतिनिधि, विद्यार्थी, मतदाता तथा समाजका अगुवासँग अन्तरक्रिया गर्दै निर्वाचन वातावरण सुरक्षित र व्यवस्थित रहेको भन्दै आश्वस्त पार्दै ।

माघ १९, २०८२

विनोद घिमिरे

Election Management Committee is convincing voters in Dhankuta

धनकुटा — आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन जिल्ला निर्वाचन व्यवस्थापन समितिको टोलीले मतदान स्थल तथा केन्द्रहरूको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्री, नेपाली सेनाका सेनानी मन्दिप राई, सशस्त्र प्रहरी नायव उपरिक्षक प्रेमप्रकाश सिग्देल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामेश्वर बस्नेत, जिल्ला निर्वाचन अधिकारी माधवकुमार अधिकारी लगायतको टोलीले विभिन्न स्थानीय तहमा रहेका मतदान स्थल र केन्द्रको अनुगमनलाई तीव्रता दिएको हो ।

सुरक्षा प्रमुहरुको टोलीले मतदान स्थल र केन्द्रमा पुगेर स्थानीय जनप्रतिनिधि, विद्यार्थी, मतदाता तथा समाजका अगुवासँग अन्तरक्रिया गर्दै निर्वाचन वातावरण सुरक्षित र व्यवस्थित रहेको भन्दै आश्वस्त पारिरहेको छ । यसअघि छथरजोरपाटी, महालक्ष्मी, साँगुरीगढी लगायतका स्थानीय तहमा रहेका मतदान स्थल र केन्द्रको अनुगमन गरेको टोलीले सोमबार पाख्रिबास नगरपालिका २, ३ र ४ वडामा रहेका मतदान स्थल र केन्द्रको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा झैझगडा वा हुलदंगा रोक्ने पूर्वतयारी र आकस्मिक सम्पर्कका लागि हटलाइन तथा मोबाइल सेवा प्रभावकारी बनाउने विषयमा विशेष योजना निर्माण र तयारी गरिरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully