धनकुटा कारागारका कैदीबन्दीको क्षयरोग परीक्षण

कारागार, वृद्धाश्रम, पुनःस्थापना केन्द्र जस्ता भीडभाडयुक्त र बन्द वातावरण भएका स्थानलाई क्षयरोगको उच्च जोखिम क्षेत्र मानिन्छ । विशेष गरी ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा क्षयरोगको जोखिम बढी रहने स्वास्थ्यविज्ञहरूको भनाइ छ ।

माघ ११, २०८२

विनोद घिमिरे

Tuberculosis testing of Dhankuta Prison inmates

What you should know

धनकुटा — धनकुटा कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग (टीबी) र एचआइभी एड्स रोग परीक्षण गरिएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीको अत्याधुनिक एआई प्रविधियुक्त मेसिनबाट छातीको एक्स–रे गरी क्षयरोग परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा १० जना कैदीबन्दीमा क्षयरोगको सम्भावित लक्षण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षय कुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले जानकारी दिए । लक्षण देखिएका कैदीबन्दीको खकार संकलन गरी थप परीक्षणका लागि प्रयोगशालामा पठाइने र आवश्यक उपचार प्रक्रिया पनि तत्काल अघि बढाइने गुरागाईंले बताए ।

क्षयरोग प्रमाणित भएका कैदीबन्दीको नि:शुल्क उपचार हुने उनले जनाए । कारागार, वृद्धाश्रम, पुनःस्थापना केन्द्र जस्ता भीडभाडयुक्त र बन्द वातावरण भएका स्थानलाई क्षयरोगको उच्च जोखिम क्षेत्र मानिन्छ । विशेष गरी ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा क्षयरोगको जोखिम बढी रहने स्वास्थ्यविज्ञहरूको भनाइ छ ।

लामो समयसम्म एकै ठाउँमा बस्नुपर्ने, पोषणको कमी, धूम्रपान, मदिरा सेवन तथा स्वास्थ्य सेवामा पहुँच सीमित हुने अवस्थाले क्षयरोग संक्रमणको सम्भावना बढाउने गुरागाईंले बताए ।  सोही कार्यक्रममा कैदीबन्दीहरूको एचआइभी एड्सको परीक्षणसमेत गरिएको थियो ।

परीक्षणमा सहभागी सबै कैदीबन्दीको एचआइभी रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । सरकारले सन् २०३५ भित्र नेपालमा क्षयरोगीको संख्या प्रति १ लाखमा १० जना भन्दा कममा झार्ने लक्ष्य लिएको छ ।

हाल नेपालमा प्रति १ लाख जनसंख्यामा २ सय २७ जना क्षयरोगी छन् ।  क्षयरोग न्यूनीकरणको सरकारी लक्ष्य प्राप्तिका लागि जोखिम समूहको पहिचान, प्रारम्भिक परीक्षण, समयमै उपचार र जनचेतना अभिवृद्धिमा जोड दिइँदै आएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत गरागाईंले बताए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully