एकीकरण मार्ग पहिल्याउँदै सैनिक टोली धर्मशाला पुग्यो

राष्ट्रिय एकताको सन्देश दिन भन्दै धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणको सैनिक टोली चारदिने ‘विजयपुरगढी–साँगुरीगढी, पाख्रिबास निशान’ पदयात्रामा छ ।

पुस २९, २०८२

विनोद घिमिरे

Military team reaches Dharamshala, exploring path of integration

What you should know

धनकुटा — एकीकरण मार्ग पहिल्याउँदै आइतबार सुनसरीको विजयपुरबाट हिँडेको नेपाली सेनाको टोली मंगलबार धनकुटाको धर्मशाला आइपुगेको छ । नेपाल एकीकरणका बखत पृथ्वीनारायण शाहको फौजले प्रयोग गरेको मूलबाटो पहिल्याउँदै नेपाली सेनाको टोली हिँडेको हो ।

राष्ट्रिय एकताको सन्देश दिन भन्दै धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणको सैनिक टोली चारदिने ‘विजयपुरगढी–साँगुरीगढी, पाख्रिबास निशान’ पदयात्रामा छ । सेनाले राष्ट्रिय एकता दिवश तथा ३०४औं पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गते सुनसरीको विजयपुर गढीबाट पदयात्रा सुरु गरेको हो ।

आइतबार सेनाको टुकडीलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी गौरवकुमार केसी, हिलेस्थित २ नम्बर बाहिनी अड्डाका वाहिनीपति दिवाकर विक्रम राणा लगायतले टोलीलाई पदयात्राका लागि बिदाइ गरेका थिए ।

नेपाली राष्ट्रिय झण्डा, पूर्वी पृतना हेडक्वार्टर इटहरी, २ नम्बर बाहिनी अड्डा हिले, सुनसरीको भगवती दल गण र धनकुटा सल्लेरीस्थित भीमदल गणको झण्डा बोकेर आइतबार बिहान विजयपुर गढीबाट निस्केको सैनिक टोली सोही दिन साँगुरीगढी उक्लियो । फुस्रेदेखि सयौं सर्वसाधारण, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, इतिहासविद्, अन्य सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र जनप्रतिनिधिले पदयात्रामा साथ दिएका थिए ।

सोमबार साँगुरीगढीबाट हिँडेको टोली धारापानी, घण्टे, फेदी, मूलघाट आएर बास बसेको थियो । मूलघाटबाट मंगलबार बिहान महाङतर्फ बढेको टोली बेलहरा हुँदै साँझ धर्मशाला पुगेको हो ।

धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको भीम दल गणका सहायक सेनानी नेतृत्वको टोलीलाई एकीकरण पदमार्गमा जनप्रतिनिधि, विद्यार्थी र स्थानीयले टीका, अबिर र फूलमालाले स्वागत गरेका छन् । 

नेपाल एकीकरणका बखत पृथ्वीनारायण शाहको फौजले प्रयोग गरेको मूलबाटो पहिल्याउँदै हिँडिरहेको भीम दल गण सल्लेरीका गणपति प्रमुख सेनानी गणेश थापाले जानकारी दिए । उनले सेनाको पदयात्राले इतिहासको संवर्द्धन र राष्ट्रिय एकताको भावना अभिवृद्धि हुने बताए । सेनाको ‘विजयपुरगढी–साँगुरीगढी, पाख्रिबास निशान’ पदयात्रा बुधबार पाख्रिबास नगरपालिका पुगेर समापन हुने थापाले जनाए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully