धनकुटाबाट पूर्वमन्त्री राजेन्द्रकुमार राईको एकल नाम सिफारिस

असन्तुष्ट पक्षद्वारा विरोध ।

पुस २०, २०८२

विनोद घिमिरे

Former Minister Rajendra Kumar Rai's single name recommended from Dhankuta

What you should know

धनकुटा — फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट नेकपा एमालेले पूर्वमन्त्री राजेन्द्रकुमार राईको एकल नाम सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले राईका नाममा सहमति जुटाएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बुले बताए ।

पार्टी संगठन सुदृढीकरण, जनाधार, राजनीतिक योगदान र निर्वाचन जित्ने क्षमतालाई आधार मानेर उनको नाम सिफारिसको निर्णय गरिएको लिम्बुको भनाइ छ । उम्मेदवारीका लागि एमाले कोशी प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङ र पूर्व केन्द्रीय सदस्य शकुन्तला बस्नेत पनि इच्छुक देखिएका थिए । चेम्जोङ २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा धनकुटा क्षेत्र १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 

अन्तिम समयमा राजेन्द्रको नाममा सर्वसम्मत निर्णय भएको लिम्बूले बताए । ‘टीका कमरेडले राजेन्द्र कमरेडलाई नै समर्थन गर्नुभयो,’ उनले भने । 

एमाले धनकुटा अध्यक्ष लिम्बुले राजेन्द्रकुमार राईको नाम सर्वसम्मत भएको दाबी गरे पनि एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य इन्द्रमणी पराजुलीले उम्मेदवारको निर्णयमा एकलौटी गरिएको आरोप लगाएका छन् । ‘उम्मेदवारका आकांक्षी तीन जना हुनुहुन्थ्यो, तीनै जनाका बीचमा सहमति गराउने भन्ने कुरा हो, तर अध्यक्ष लिम्बुले राजेन्द्रजीको एकल नाम भनेर घोषणा गर्नुभयो,’ उनले भने । पूर्वकेन्द्रीय सदस्य शकुन्तला बस्नेतले जिल्ला अध्यक्ष लिम्बुले आफूहरूको कुरा नसुनेको आरोप लगाइन् । ‘हामीले आकांक्षीबीचमा सहमति भएपछि मात्रै निर्णय गरौं भनेका हौं, तर उहाँहरूले हाम्रो कुरा सुन्नु भएन,’ उनले भनिन्, ‘यो एकलौटी पेलाइ भयो । अब हामी चुप लागेर बस्दैनौं ।’ 

धनकुटाबाट आफ्नो एकल नाम सिफारिस भएपछि राईले कान्तिपुरसँग भने, ‘साथीहरूले सिफारिस गर्नुभएको छ, त्यही अनुसार निर्वाचनको तयारीमा जुट्ने छौं ।’

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully