भारतीय पर्यटकलाई लक्षित गरी होटल एसोसिएसन भेडेटारले गरेको परिकार महोत्सवको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरे ।
What you should know
धनकुटा — अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा पूर्वको प्रसिद्ध पर्यटकीय स्थल धनकुटाको भेडेटारमा परिकार महोत्सवको १३ औँ संस्करण सुरु भएको छ ।
भारतीय पर्यटकलाई लक्षित गरी होटल एसोसिएसन भेडेटारले गरेको परिकार महोत्सवको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा मन्त्री मण्डलले भेडेटार शृङ्खलाको संस्कृति र पर्यावरण संरक्षण गर्दै पर्यटन विकास गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए । यो महोत्सवले छिमेकी मुलुक भारतका पर्यटकको आगमन बढाउनुका साथै स्थानीय होटल, रेस्टुराँ र यातायात क्षेत्रमा सकारात्मक सुधार ल्याउने अपेक्षा व्यक्त गरे ।
उनले भेडेटार क्षेत्रको संस्कृतिले भारतीय पर्यटकलाई आकर्षित गर्न सक्नुपर्ने जनाए । उनले भने, ‘पूर्वी सीमा नजिकका भारतीय सहरबाट ठूलो संख्यामा पर्यटक ल्याउन सकिन्छ । यहाँको समृद्ध जातीय भेषभूषा, रहनसहन र परम्परागत सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न सकिन्छ ।’
महोत्सवमा स्थानीय तथा जातीय पहिचान झल्कने खानाका परिकारलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । राई, लिम्बु, मगर, गुरुङ, याम्फू र नेवार समुदायका परम्परागत खानाका परिकार महोत्सवका मुख्य आकर्षण हुने आयोजकको दाबी छ ।
यसका साथै महोत्सवमा भेडेटार पुग्ने पर्यटकले विगतमा झैँ माउन्टेन बाइकिङ र प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन सक्ने होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।
महोत्सवबाट भेडेटार चारकोसे झ्याल, स्काइ वाक, पाथीभरा मन्दिर, थाकलडाँडा पिकनिक स्थल, नाम्जेको आत्माबस्ने घर तथा जनजाति पार्क, नमस्ते झरना, अजंगको बरको रुख, कार्कीछाप झरना तथा खुवालुङ–ध्वजे पदमार्गलगायतका पर्यटकीय गन्तव्यहरूको समेत प्रचार–प्रसारमा सहयोग पुग्ने उनको भनाइ छ ।
होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिम्बुले महोत्सवको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन रहेको बताए । बुधबारबाट सुरु भएको महोत्सवमा अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका स्टलसमेत राखिएका छन् ।
महोत्सव अवधिभर २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने र ५० देखि ६० हजार पर्यटक भेडेटार भित्रिने अपेक्षा गरिएको छ । महोत्सव अवधिमा भेडेटारमा सञ्चालित होटल तथा रेस्टुराँले खान–बस्नमा १० प्रतिशतसम्म सहुलियत दिने निर्णय भएको अध्यक्ष लिम्बुले जानकारी दिए ।
भेडेटारमा साना–ठूला गरी करिब २०० होटल तथा रेस्टुराँ सञ्चालनमा छन् । यहाँका होटल तथा रेस्टुराँमा दैनिक करिब ४ हजार आगन्तुकलाई सेवा दिन सक्ने क्षमता रहेको छ ।
यसैबीच भेडेटार क्षेत्रको प्रचार–प्रसारमा योगदान पुर्याएको भन्दै धनकुटाका पत्रकार नारायणकुमार आठपहरिया र धरानका रोहित बस्नेतलाई पुरस्कृत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले दुवै पत्रकारलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरे ।
महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
