धनकुटा नगरपालिकाले नगरभित्रका पर्यटकीय सूचना तथा जानकारी उपलब्ध गराउन बसपार्कमा पर्यटन सूचना केन्द्र पनि सञ्चालनमा ल्याइसकेको छ ।
What you should know
धनकुटा — धनकुटा नगरपालिकाले स्थानीय पर्यटनलाई व्यावसायिक, भरपर्दो, उत्तरदायी, दीर्घकालीन र परिणाममुखी बनाउने उद्देश्यले पर्यटन नीति तथा निर्देशिका बनाउने प्रक्रिया सुरु गरेको छ । स्थानीय उत्पादन, घरेलु उद्यम प्रवर्द्धन र कृषि पर्यटनलाई प्राथमिकतामा राखे पनि धनकुटा नगरपालिकाले अहिलेसम्म पर्यटन नीति तयार पारेको थिएन ।
नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजनासँगको साझेदारीमा स्थानीयस्तरमा रहेका प्राकृतिक सम्पदा, स्थानीय समुदायको सांस्कृतिक तथा सामाजिक पहिचान, स्वामित्व र सहभागिता, पूर्वाधार पहुँच, आतिथ्य संस्कार, सुरक्षा, गुणस्तर र मापदण्डका विषय समेटेर पर्यटन नीति तथा निर्देशिका तयार पार्न लागेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
पर्यटन प्रवर्द्धनका लागि नगरको अवधारणा, दृष्टिकोण, सम्भावनाका क्षेत्र र गन्तव्यको पहिचान, होमस्टे तथा होटल–रेस्टुरेन्टमा अतिथि सत्कार, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रको भूमिका, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन तथा पर्यटन सुरक्षा र जोखिम व्यवस्थापनसँग सम्बन्धित विषयमा सुझाव सङ्कलन भइरहेको प्रमुख तामाङले जनाए ।
यसका लागि नगरपालिकाले स्थानीयस्तरमा क्रियाशील सामाजिक सङ्घ–संस्था, प्राध्यापक, पत्रकार, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी, आदिवासी जनजाति महासङ्घका प्रतिनिधिसँग चरणबद्ध छलफल गरिरहेको छ । तामाङले भने, 'पर्यटन नीति आवश्यक थियो । अब धनकुटा नगरपालिकामा कस्तो पर्यटन, को पर्यटक, कस्तो व्यवहार, के सुविधा, देखाउने, बुझाउने र सुनाउने भन्ने कुरा यही नीतिले गाइड गर्नेछ ।' आगामी दिनमा पर्यटन नीति अनुसारका कार्यक्रम निर्माण र पूर्वाधार विकास गर्दै जाने उनको भनाइ थियो ।
प्राप्त सुझावका आधारमा पर्यटन नीति तथा निर्देशिका तयार गरी नयाँ कार्यक्रम र पूर्वाधार विकासका कार्यक्रम अघि बढाइने धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले बताए । उनले पर्यटन क्षेत्रका सरोकारवालाबीच साझा दृष्टिकोण विकास तथा व्यावहारिक र कार्यान्वयनयोग्य नीति तयार गर्न गृहकार्य भइरहेको जनाए ।
यसअघि धनकुटा नगरपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्न स्थानीय युवाका लागि टुरिस्ट गाइड तालिम सञ्चालन गरेको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा धनकुटा नगरपालिकाका १५ जना युवालाई टुरिस्ट गाइडमा हुनुपर्ने आचरण, व्यवहारिक ज्ञान, शिष्टाचार, संवाद कला, सुरक्षा सचेतना र जिम्मेवारीका विषयमा सातदिने तालिम उपलब्ध गराएको थियो ।
तालिममा सहभागी युवाले पर्यटनकर्मी, इतिहासका जानकार तथा भूगर्भविद्बाट धनकुटाको इतिहास, संस्कार–संस्कृति, भाषा, भौगोलिक विशेषता, पर्यटकका लागि सही र विश्वसनीय सूचना तथा मार्गदर्शनसम्बन्धी तालिम लिएका छन् ।
धनकुटा नगरपालिकामा ऐतिहासिक निशान भगवती मन्दिर, बिहीबारे हाट, सुन्तले सहर, विश्रान्ति धाम, मूलघाट–धनकुटा पदमार्ग, महेन्द्र पार्क, आठपहरिया सङ्ग्रहालय, कोशी प्रदेश सङ्ग्रहालय, चुलीवन, हिले, बक्रकुण्ड, उत्तरपानी, मधुगङ्गा तीर्थस्थललगायत धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका सम्पदा छन् ।
धनकुटा नगरपालिकाले नगरभित्रका पर्यटकीय सूचना तथा जानकारी उपलब्ध गराउन बसपार्कमा पर्यटन सूचना केन्द्र पनि सञ्चालनमा ल्याइसकेको छ ।
