यो उपेक्षा र अपमानको हिसाब–किताब हुनेछ : राई

धनकुटाबाट एक जनाको नाम पनि समानुपातिक सूचीमा नराखेर जिल्लाको अस्तित्व नै मेटाउन खोजेको भन्दै पार्टी नेतृत्वसँग कांग्रेस जिल्ला सभापति दिनेश राईले आक्रोश पोखेका छन् ।

पुस १५, २०८२

विनोद घिमिरे

धनकुटा — नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा धनकुटासहित कोशीका केही जिल्लाबाट एक जनाको पनि नाम नपरेको भन्दै कांग्रेसका धनकुटा सभापति दिनेश राईले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि जनाएका छन् ।

सभापति राईले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘नेपाली कांग्रेसको नेतृत्वलाई खुला प्रश्न’ भन्दै संघर्षमा काँध, आन्दोलनमा रगत र निर्वाचनमा भोट दिएको जिल्लाबाट एक जना पनि समानुपातिक सूचीमा नराखेर जिल्लाको अस्तित्व नै मेटाउन खोजेको भन्दै पार्टी नेतृत्वसँग आक्रोश पोखेका छन् । 

सभापति राईले पार्टी केन्द्रको पक्षपातपूर्ण कदम तुरुन्त सच्याउन माग गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘के यहाँका जनता भोट हाल्ने मेसिन मात्रै हुन् ? सत्ता बाँड्दा सम्झनै नपर्ने ?’ 

समानुपातिकको नाममा सन्तुलनको कुरा गर्ने केन्द्रीय नेतृत्वले केवल कमजोरी मात्रै नगरेर आफूहरूमाथि राजनीतिक अन्याय गरेको पनि उनको गुनासो छ । 

पार्टीमा विशेष अधिवेशनको माग गरेकै आधारमा आफूहरूको त्याग र इतिहास बिर्सेर खुला अपमान गरिएको भन्दै आफूहरूले त्यसको ‘हिसाबकिताब गर्ने चेतावनी’ पनि उनले दिएका छन् । 

सभापति राई कांग्रेस महामन्त्री गगनकुमार थापा निकट मानिन्छन् । सभापति राईले कान्तिपुरसँगको कुराकानीमा भने, ‘धनकुटामाथि गरिएको अन्याय फागुन २१ गतेसम्म सच्याउन सकिन्छ, कसरी हुन्छ सच्याउनु पर्छ, हामीले न्याय मागेको हो, अन्यथा होइन ।’ 

धनकुटा कांग्रेसले समानुपातिक तर्फ कमोटकुमार फागो, उदय लिम्बु, करुणा कटुवाल, चन्द्र याखा, टीकादेवी भण्डारी, मीना राई, मीनबहादुर कार्की, सीता प्रधान, रेणु श्रेष्ठ र रामजी कोङरेनको नाम सिफारिस गरेको थियो ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully