महोत्सव पुस १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
What you should know
धनकुटा — पर्यटकीय स्थल धनकुटाको भेडेटारमा १३औँ खानपिन महोत्सव आयोजना हुने भएको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा महोत्सव पुस १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा स्थानीय तथा जातीय पहिचान झल्किने परिकारहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । राई, लिम्बु, मगर, गुरुङ, याम्फू र नेवारी समुदायका परम्परागत खानाका परिकार महोत्सवका मुख्य आकर्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । साथै सहभागी पर्यटकले माउन्टेन बाइकिङ र प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन सक्नेछन् ।
भेडेटार क्षेत्रका स्काइवाक, पाथीभरा मन्दिर, थाकलडाँडा पिकनिक स्पट, आत्माबस्ने घर, जनजाति पार्क, नमस्ते झरना, अजंगको बरको रुख, कार्कीछाप झरना र खुवालुङ–ध्वजे पदमार्गलगायतका पर्यटकीय गन्तव्यहरूको समेत प्रचार–प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले महोत्सवको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु रहेको बताए । “खानपिन महोत्सवमार्फत समुन्नत भेडेटार विकासका लागि राज्यको ध्यानाकर्षण गराउने हाम्रो लक्ष्य हो,” उनले भने ।
उनका अनुसार महोत्सव अवधिभर २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने र ५० देखि ६० हजार पर्यटक भेडेटार भित्रिने अपेक्षा गरिएको छ । भेडेटार नजिकै रहेको नाम्जे क्षेत्र अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले घुम्नैपर्ने १२औँ गन्तव्य सूचीमा समेटिएको क्षेत्रका रूपमा परिचित छ, जसले भेडेटारको पर्यटकीय महत्वलाई थप उचाइ दिएको आयोजकको भनाइ छ ।
फेस्टिभल अवधिमा भेडेटारमा सञ्चालित होटल तथा रेस्टुरेन्टले खान–बस्न १० प्रतिशतसम्म सहुलियत दिने अध्यक्ष लिम्बुले जानकारी दिए । भेडेटारमा साना–ठूला करिब २०० होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यहाँका होटल–रेस्टुरेन्टमा दैनिक करिब ४ हजार आगन्तुकलाई सेवा दिन सक्ने क्षमता रहेको पनि उनले बताए ।
