सहयोग रकम संकलनका लागि बक्सिङ संघले धनकुटा सदरमुकाममा सांस्कृतिक कार्यक्रम गरेको थियो ।
धनकुटा — बक्सिङ संघ धनकुटाले अनाथ बालबालिका, क्यान्सर तथा मिर्गौला रोगपीडित बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
धनकुटा जिल्ला बक्सिङ संघले श्रीपञ्चमी पार्कमा सञ्चालित अनाथ आश्रममा आश्रित बालबालिका, धनकुटा नगरपालिका–८ का मिर्गौलापीडित चौतिसलाल आठपहरिया र चौविसे गाउँपालिकाका ब्लड क्यान्सर पीडित मूर्तिकार जितेन चेम्जोङको उपचारार्थ १ लाख ७० हजार ४ सय ७० रुपैयाँ उपलब्ध गराएको हो ।
मिर्गौला पीडित चौतिसलाल धनकुटा नगरपालिका–८ का वडा सदस्य हुन् । मिर्गौलामा समस्या आएका आठपहरिया मिर्गौला प्रत्यारोपणका लागि खर्च जुटाइरहेका छन् । आठपहरिया सहयोग रकम बुझ्न आफैं आइपुगेका थिए । यस्तै ब्लड क्यानसर पीडित मूर्तिकार जितेन चेम्जोङ काठमाडौंस्थित ओम अस्पतालमा उपचाररत छन् । चेम्जोङलाई मिसन पोयट्रीका सदस्यमार्फत सहयोग रकम पठाइएको बक्सिङ संघ धनकुटाका सचिव रोशन राईले बताए ।
धनकुटामा सोमबार पत्रकार सम्मेलन गरेर संघले धनकुटा बसपार्कमा सीसी क्यामेरा जडानका लागि ४५ तथा खेल सामग्री वितरणका लागि १८ गरी ६३ हजार रुपैयाँ वितरण गरेको छ ।
बक्सिङ संघको सहयोगमा धनकुटा बसपार्कमा २ वटा सीसी क्यामेरा जडान गरिएको छ । खेल सामग्री र जर्सी भने गाउँका फूटबल क्लबलाई वितरण गरिएको छ । सहयोग रकम संकलनका लागि बक्सिङ संघले धनकुटा सदरमुकाममा सांस्कृतिक कार्यक्रम गरेको थियो । सोही कार्यक्रमबाट संकलित रकम बिरामीको उपचार खर्च, सीसी क्यामेरा जडान तथा अनाथ आश्रमका बालबालिकाको भरणपोषणका लागि वितरण गरिएको बक्सिङ संघ धनकुटाका कार्यवाहक अध्यक्ष हेमचन्द्र राईले जानकारी दिए ।
