धनकुटामा आँप खेती गर्ने किसान खोज्दै पालिका र ज्ञान केन्द्रका अधिकारी

गाउँको बाँझो जग्गा उपयोगमा ल्याउन किसानसँगको पचास प्रतिशत साझेदारीमा कृषि ज्ञान केन्द्र धनकुटाले आँप खेतीको ब्लक विकास कार्यक्रम लागू गर्न खोजेको हो ।

पुस ३, २०८२

विनोद घिमिरे

Municipal and Knowledge Center officials are looking for farmers to cultivate mangoes in Dhankuta.

What you should know

धनकुटा — आँप खेती ब्लक विकास कार्यक्रम संचालनका लागि पटक-पटक सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आवेदन नपरेपछि  गाउँपालिका र ज्ञान केन्द्रका अधिकारी आँप रोप्ने किसान खोज्दै गाउँ पसेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको १ हजार ४ सय रोपनीमा आँप खेती ब्लक विकास कार्यक्रम संचालन गर्दैछ । छथरजोरपाटीको ३, ४ र ५ नम्बर वडाका तल्लो क्षेत्रमा पर्ने बन्चरे, सिंभूवा, पाथीभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा र ताम्लिङ लगायतका स्थान आँप खेतीका लागि संभाव्य छन् ।

गाउँको बाँझो जग्गा उपयोगमा ल्याउन किसानसँगको पचास प्रतिशत साझेदारीमा कृषि ज्ञान केन्द्र धनकुटाले आँप खेतीको ब्लक विकास कार्यक्रम लागू गर्न खोजेको हो । तर पटक-पटक सार्वजनिक आह्वान गर्दा पनि किसानको आवेदन नपरेपछि आँप खेती गर्ने किसान खोज्न गाउँगाउँमा पालिका र ज्ञान केन्द्रका अधिकारी जानुपरेको हो ।

छथरजोरपाटी गाउँपालिकाअध्यक्ष छत्रबहादुर सुब्बा र कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानासहित कृषि अधिकृतको टोली अहिले गाउँमा आँप ब्लक विकास परियोजना संचालनको मोडेल, लागत सहभागिता, खेतीको तरिका र फाइदा बुझाइरहेका छन् । 'आँप खेती गर्न चाहने किसानलाई टोलटोलमा गएर यसको महत्त्व बुझाइरहेका छौं,' कृषि ज्ञानकेन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले भने,  'यो परियोजनाले आँप खेतीमा लाग्न चाहने किसान भेटिरहेका छौं, जग्गा र किसानको विवरण लिँदै छौं ।' 

ज्ञानकेन्द्रमार्फत  संघीय सरकारले आँप ब्लक विकास कार्यक्रममा खेती विस्तारका लागि ५० र सिँचाइका लागि ८० प्रतिशत अनुदान उपलब्ध गराउने प्रावधान छ । आँप खेतीको ब्लक विकास कार्यक्रम संचालनका लागि ज्ञान केन्द्रलाई १० लाख रुपैयाँ प्राप्त भएको छ । यसमा किसानले त्यत्ति नै लगानी गर्नुपर्ने निमित्त प्रमुख रानाले जानकारी दिए । 

कार्यक्रम संचालनका लागि ज्ञानकेन्द्रले मंसिर १० गतेयता दुईपटक सार्वजनिक सूचना जारी गरिसकेको छ । छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा सरकारले 'गरिखाने' कार्यक्रम ल्याउँदा पनि किसान अनिच्छुक देखिएपछि किसानमा उधमशीलताको जागरण ल्याउन गाउँ पसेको बताए । उनले भने 'नगर्दा सरकारले केही गरेन भनेर गुनासो गर्ने, कार्यक्रम आउँदा रुचि नै नदेखाउने अवस्था आएपछि किसान खोज्न गाउँ पस्नु परेको हो ।'

आँप खेती गर्ने किसान ननिस्किए सामुदायिक वन उपभोक्तासँगको समन्वयमा सामुदायिक वनमै भए पनि आँप खेती गर्ने सुब्बाको भनाइ छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully