डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालबाट १८ हजारलाई सेवा

अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा १७ हजार ८ सय २५ जनालाई आँखा उपचार सम्बन्धित सेवा उपलब्ध गराएको हो ।

मंसिर २९, २०८२

विनोद घिमिरे

Dr. Ram Prasad Pokhrel Eye Hospital provides services to 18,000 people

धनकुटा — धनकुटामा संचालित डा. रामप्रसाद पोख्रेल सामुदायिक आँखा अस्पतालले एकै वर्ष कोशी प्रदेशका दुर्गम हिमाली र पहाडी जिल्लाका करिब १८ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ ।

अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा १७ हजार ८ सय २५ जनालाई आँखा सम्बन्धी उपचार सेवा उपलब्ध गराएको हो ।

नेपाल नेत्रज्योती संघले २०७० सालबाट यो अस्पताल संचालनमा ल्याएको हो । दुर्गममा आँखा उपचारको पहुँच बृद्धिको उद्देश्य राखेर संचालित शिविर र बहिरंग सेवाबाट गत वर्ष मोतियाबिन्दु छनौट शिविर, नियमित बहिरंग सेवा, विद्यार्थी आँखा जाँच, निशुल्क चस्मा वितरण कार्यक्रमबाट १७ हजार ८ सय २५ जनाले स्वास्थ्य लाभ लिएको नेत्रज्योती संघ धनकुटा शाखाले जनाएको छ ।

धनकुटा, भोजपुर, तेह्रथम, संखुवासभालगायत जिल्लामा संचालित आँखा जाँच तथा शल्यक्रिया शिविरमा बिरामीको प्रारम्भिक जाँच, औषधि वितरण तथा शल्यक्रियाका लागि सिफारिस गरिएको संघका धनकुटा सचिव देवबहादुर खड्काले जानकारी दिए । यो अस्पतालले विपन्न र आर्थिक रुपमा कमजोर बिरामीलाई निशुल्क उपचार तथा चिकित्सकको टोलीले घुम्ती सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

आइतबार आयोजित नेत्रज्योति संघ धनकुटाको १५ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्षको आम्दानी र खर्चको विवरण समेत प्रस्तुत गरिएको थियो । साधारण सभामा आँखा उपचार सेवामा प्रभावकारी योगदान पुर्‍याएको भन्दै रानीस्थित विराटनगर आँखा अस्पताललाई संस्थागत सम्मानित गरिएको छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully