हरेक वर्ष धान्य पूर्णिमादेखि तीन दिनसम्म मधुगंगा धाममा मेला लाग्ने गर्छ ।
धनकुटा — धान्य पूर्णिमाको अवसरमा धार्मिक तथा पर्यटकीय स्थल धनकुटाको भीरगाउँस्थित मधुगंगा धाममा मेला लागेको छ ।
हरेक वर्ष धान्य पूर्णिमादेखि तीन दिनसम्म मधुगंगा धाममा मेला लाग्ने गर्छ । मधुगंगा महादेवको दर्शन तथा पूजा–अर्चना गरे सन्तान, सुख–शान्ति र वैभव प्राप्ति हुने विश्वासका साथ श्रद्धालुहरू मधुगंगा धाम पुग्ने गरेका छन् ।
यस्तै, मधुगंगा महादेवको नाममा भाकल गर्नेहरूले पशुपक्षीको बली दिने गर्छन् । यसो गर्दा दुःख–कष्ट, अनिकाल र रोग व्याधिबाट छुटकारा पाइने धार्मिक विश्वास छ । लाखबत्ति बाल्ने, सामूहिक रुद्र पाठ र व्रतबन्धका लागि पनि यहाँ पुग्ने गरेका छन् ।
मेला भर्नका लागि धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, सुनसरी, मोरङलगायत जिल्लाबाट सर्वसाधारणहरू पुग्ने गरेका छन् । श्रद्धालु र आगन्तुकको सुविधाका लागि मेला व्यवस्थापन समिति पनि निर्माण गरिएको छ ।
मधुगंगा तीर्थस्थल धनकुटा बजारबाट १० किलोमिटरको दूरीमा छ । धनकुटाको हलिरे र सदरमुकामस्थित बहीबारे हाटबाट मधुगंगाधाम जाने सडक विस्तार भएको छ ।
