लामो समयदेखि चौकी स्थापना भएर भोगचलन गर्दै आएको जग्गाको स्वामित्व आफूसँग नहुँदा प्रहरीले आवश्यक स्थायी संरचना र पूर्वाधार बनाउन सकेका थिएनन् ।
What you should know
धनकुटा — वर्षौँसम्मको प्रक्रियागत उल्झन र अन्यौलतापछि धनकुटा प्रहरीले मातहतका चौकीले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्राप्त गरेको छ । लामो समयदेखि चौकी स्थापना भएर भोगचलन गर्दै आएको जग्गाको स्वामित्व आफूसँग नहुँदा प्रहरीले आवश्यक स्थायी संरचना र पूर्वाधार बनाउन सकेका थिएनन् ।
साँगुरीगढी गाउँपालिकाको ओख्रे, छथरजोरपाटी गाउँपालिकाको जोरपाटी, धनकुटा नगरपालिकाको बेलहरा, चौबिसे गाउँपालिकाको फलामेटार तथा पाख्रिबास नगरपालिकाको प्रस्तावित मुगा प्रहरी चौकीका लागि २९ रोपनी जग्गाको स्वामित्व प्राप्त गरेको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
धनकुटा प्रहरीको स्वामित्वमा आएको २९ मध्ये २२ रोपनी सरकारी, ऐलानी जग्गाको भोगाधिकार नेपाल सरकारले उपलब्ध गराएको छ । यस्तै सात रोपनी जग्गा स्थानीयले प्रहरीका नाममा रजिस्ट्रेसन पास गरी जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराएका छन् । चौबिसे गाउँपालिकाको फलामेटार तथा पाख्रिबास नगरपालिका स्थित प्रस्तावित मुगा प्रहरी चौकीका लागि ७ रोपनी जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका हुन् ।
फलामेटार प्रहरी चौकीका लागि स्थानीय मानबहादुर कार्की र राजकुमार भण्डारीले ३ तथा मुगा चौकीका लागि समन्तभद्र थापाले ४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको प्रहरी उपरीक्षक थापाले बताए । बेलहरा चौकीका लागि स्थानीय घनश्याम बस्नेत र रत्नबहादुर बस्नेतले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
बेलहरा चौकीका लागि १४ रोपनी जग्गा भने स्थानीय तहको सिफारिसमा भोगाधिकार प्राप्त भएको प्रहरी उपरीक्षक थापाको भनाइ छ । साँगुरीगढी गाउँपालिकाको ओख्रेमा २०२४ सालमा स्थापना भएको ओख्रे प्रहरी चौकीले पनि ५८ वर्ष पछि आफूले भोगचलन गर्दै आएको ५ रोपनी ६ आना जग्गाको भोगाधिकार–स्वामित्व प्राप्त गरेको छ । उक्त चौकीका लागि २०५५ सालबाटै जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिएको थियो ।
त्यसयता विभिन्न समयमा बनेका भूमिसम्बन्धी समस्या समाधान आयोग र सरकारसँग अनुरोध गरिए पनि प्रहरीका लागि जग्गा उपलब्ध भएको थिएन । जग्गाको स्वामित्व सुनिश्चित भएका पाँच वटै प्रहरी चौकीका लागि आवश्यक कार्यालय, ब्यारेक, आवास, भान्सा, तालिमस्थल लगायतका स्थायी संरचना निर्माणको बाटो खुलेको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व प्राप्त नहुँदा प्रहरीका लागि आवश्यक स्थायी संरचना र पूर्वाधार निर्माण हुन सकेका थिएनन् । जग्गाको स्वामित्व प्राप्त नभएका स्थानमा स्थायी संरचना निर्माणका लागि सरकारी बजेट खर्च गर्न नपाइने व्यवस्था छ । धनकुटामा जिल्ला ट्राफिक प्रहरी कार्यालयको पनि आफ्नै जग्गा छैन । जग्गा र स्थायी संरचना नहुँदा २ आना जग्गामा बनेको साँघुरो र जीर्ण घरबाट ट्राफिक प्रहरी कार्यालय सञ्चालन भइरहेको छ ।
ट्राफिक प्रहरी र साँगुरीगढी गाउँपालिकाको आहाले चौकीका लागि पनि जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको भनाइ छ । धनकुटामा जिल्ला प्रहरी, ट्राफिक, इलाका, स्थायी र अस्थायी चौकी, पोस्ट, बिट, पर्यटक सहायता प्रहरी समेत २९ वटा प्रहरी इकाइ छन् । यीमध्ये ट्राफिक प्रहरी, जोरपाटी र बेलहरा प्रहरी चौकी व्यक्तिका घरमा भाडा तिरेर बस्दै आएका छन् ।
बजेट अभावका कारण शहीदभूमि गाउँपालिकाको त्रिवेणी, छथरजोरपाटीको सिंधुवा, चौबिसेको मौनाबुधुक र समेवा प्रहरीले चौकी पुराना र जीर्ण संरचनाबाट सञ्चालन भइरहेका छन् । यी चौकीमा कार्यालय, आवास, थुनुवा, भान्सा जस्ता अत्यावश्यक पूर्वाधार छैनन् । पुराना र स्थानीयले उपलब्ध गराएका जीर्ण संरचनाबाटै चौकी सञ्चालन गर्नु परेको उपरीक्षक थापाको भनाइ छ ।
