एमाले प्रतिनिधि छनौट विवाद : पुनः निर्वाचन गर्न केन्द्रीय संगठन विभागको पत्र

मंसिर १३ गतेको प्रतिनिधि छनौट विवादित बनेपछि केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले पाँच दिनभित्र पुनःनिर्वाचन गर्न निर्देशन दिएका छन्।

मंसिर १७, २०८२

विनोद घिमिरे

धनकुटा — नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि धनकुटामा भएको प्रतिनिधि छनौट निष्पक्ष र पारदर्शी नभएको भन्दै नेकपा एमाले केन्द्रीय संगठन विभागले प्रतिनिधि छनौट प्रक्रिया पुनः अघि बढाउन निर्देशन दिएको छ।

प्रतिनिधि छनौटका लागि मंसिर १३ गते भएको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी नभएको भन्दै केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले पत्रमार्फत प्रतिनिधि छनौटका लागि पाँच दिनभित्र पुनःनिर्वाचन गर्न निर्देशन दिएका हुन् । पत्रमा प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना संप्रेषण गरी पालिकास्तरमा मतदान केन्द्र व्यवस्थापन गरी निर्वाचन गर्न भनिएको छ।

पुनः निर्वाचन प्रक्रियाका लागि सहजीकरण गर्न नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र धनकुटा जिल्ला इञ्चार्ज राजेन्द्रलाई तोकिएको छ।

धनकुटामा मंसिर १३ गते भएको प्रतिनिधि छनौटमा धाँधली गरी सबै १३ जना प्रतिनिधि आफ्नो पक्षका मान्छे मात्रै जिताएको भन्दै एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य इन्द्रमणी पराजुली समूहले विरोध जनाउँदै आएको छ।

नेकपा एमाले केन्द्रीय संगठन विभागबाट आएको पत्रबारे जानकारी भए पनि पुनःनिर्वाचन असम्भव रहेको एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बुले बताएका छन्। लिम्बुले प्रतिनिधि छनौट प्रक्रिया नियमअनुसार भएको दावी गर्दै पुनः निर्वाचन हुन नसक्ने बताए।

धनकुटामा एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राई र प्रदेश कमिटी सचिवालय सदस्य इन्द्रमणी पराजुलीबीचको विवादका कारण मंसिर १३ का लागि तोकिएको प्रतिनिधि छनौट प्रक्रिया विवादास्पद बनेको थियो। पराजुली पक्षले प्रतिनिधि छनौटमा राई समूहले एकलौटी गरेको भन्दै निर्वाचन प्रक्रिया नस्वीकार्ने जनाउँदै आएको छ।


विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully