भारवहन मापदण्ड पालनामा धनकुटा प्रशासनको कडाइ

अधिकतम २४ टन भारी बोक्न सक्ने व्यवस्था रहे पनि विभिन्न निर्माण आयोजना र उद्योगका मालवाहक गाडीले उक्त व्यवस्था पालना नगरेको गुनासो छ ।

मंसिर १५, २०८२

विनोद घिमिरे

Dhankuta administration strict on compliance with load carrying standards

धनकुटा — कोशी राजमार्गको भेडेटार-चित्रे खण्डमा मालवाहक सवारीसाधन सञ्चालकले भारवहन निर्देशिका पालना नगरेको गुनासो बढेपछि धनकुटा प्रशासनले कडाइ सुरु गरेको छ ।

ट्रक टिपर, मिनीटिपर, ट्रेलर, सेमीट्रेलर, ट्याकटरजस्ता मालवस्तु ढुवानी गर्ने साधनका चालक र तिनका सहयोगीले मापदण्डविपरीत ‘लोड’ ओससारपसार गर्दा सडक संरचनामा क्षति पुगेको गुनासोपछि प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको अध्यक्षतामा बसेको बैठकले भारवहन निर्देशिका २०७४ कडाइका साथ पालना गराउने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ ले गाडीको  प्रकार र क्षमता हेरेर अधिकतम २४ टन भारी बोक्न सक्ने व्यवस्था गरेको छ । तर विभिन्न निर्माण आयोजना र उद्योगका मालवाहक गाडीले उक्त व्यवस्था पालना नगरेको गुनासो छ ।

धनकुटालगायत तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङ जानेआउने ढुवानीका साधनले कोशी राजमार्गको भेडेटार, मूलघाट, धनकुटा बजार, हिले लेगुवा तथा जोरपाटी र सिँधुवा खण्ड प्रयोग गर्छन् । यद्यपि यी रुटमा मालवाहक सवारीको तौल निरीक्षण तथा अनुगमनको व्यवस्था गरिएको छैन । साथै तौल पुल पनि सञ्चालनमा छैनन् ।

तत्कालका लागि सुनसरी जिल्लासँग समन्वय गरेर सवारीको तौल निरीक्षण तथा अनुगमनको काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । यस्तै अत्यावश्यकबाहेक सडक किनारामा पार्किङ गर्न नदिने, सडकमै बिग्रिएका यातायात र ढुवानीका साधनको उचित व्यवस्थापन गर्न नपाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ ।

यस्तै ४ दशक पुरानो मूलघाटस्थित तमोर नदीमाथिको पक्कपी पुल जीर्ण बन्दै गएकाले उक्त पुलको ‘हेल्थ एसेसमेन्ट’ का लागि मर्मतसम्भार प्रक्रिया अघि बढाउान सडक डिभिजन कार्यालयलाई प्रशासनले आग्रह गरेको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully