बेलहराको साँवाबारी, माहाङ, रिपेनी, जीमी र सिङदानटोलका ५ सय ६० परिवारले सिँचाइ सुविधा पटक्कै नभएको रुख्खासुख्खामा पनि धान फलाएर यसको व्यवसायिकतामा आसा देखाएका छन् ।
What you should know
धनकुटा — कुलो, पानी, हिलो न आली । तैपनी ढुकुटीभरी धान । के हिलो आली, ब्याड, बाउसे र रोपाहार बिनै धुलोमाटोमा धान रोपेर उत्पादन लिन सकिएला ? यो प्रश्नको जवाफ धनकुटाको सुख्खाग्रस्त बेलाहरा गाउँका किसानले दिएका छन् । त्यो पनि पाखोबारीमा हजारौं मुरी धान फलाएर ।
धनकुटा बेलहरा गाउँको रोइला टोलका शंकर रोइलाको पानी लाग्ने खेत छैन । तर पनि यो वर्ष उनको ढुकुटीभरी धान र बारीमा परालको कुन्यू छ । शंकरले डेढ किलो पाखेधान रोपेर १२ मुरी फलाएका छन् । त्यसैको पराल गाइवस्तुलाई मनग्गे भएको छ ।
अघिल्लो वर्ष गाई, भैंसी र गोरुका लागि ४८ हजार रुपैयाँ तिरेर एकगाडी पराल किनेका उनी यो पटक चामल र पराल किन्नु नपर्ने भएपछि खुसी छन् । भन्छन्, ‘धुलोमा बीउ राखेर कोदो रोप्दा झैं रोपेँ, बेलाबेला हेरदेख गरेकै भरमा उत्पादन एकदमै राम्रो भयो, असोजको पानीले थोरै बिगार्यो नत्र अझ धेरै हुन्थ्यो ।’
उनले आउँदो वर्ष बीउ र क्षेत्र बढाएर पाखेधान रोप्ने सुर कसेका छन् । जीमिटोलका इन्द्र राईको खेत छैन, बारी छ त्यो पनि भीरालो । वर्षभरी चाहिने धान–पराल र भुसका लागि सधैं बेँसी र तराई झर्ने राई यो वर्ष भने ढुक्क छन् । बारीमा मकैभित्र धान रोपेर १० मुरी तुल्याएका छन् । खोल्माभरी पराल छ । बर्खे मकैभित्र छरेको धान सोचेभन्दा राम्रो फलेको उनको अनुभव छ ।
उनले मकैबारीभित्र एक किलो बीउ छरेको सुनाए । भन्छन्, ‘गाउँमा सबैले गर्दा गरौंन त भनेर मकैबारीभित्र छरेको हुँ । मेरो अरु बारी खाली थिएन, तर नपत्याउँदो खोलाले बगायो । बाँदर लड्ने पाखोमै मनग्गे धान फल्यो ।’ थानीचोकका नारायण श्रेष्ठ बेलाहरामै सबैभन्दा धेरै पाखेधान फलाउनेमा पर्छन् ।
श्रेष्ठले यो वर्ष तीन किलो बीउबाट २४ मुरी धान फलाए । एक ट्याकटर बढी पराल भएको सुनाए । उनी कम मेहेनतमा धेरै धान फलेको भन्दै खुसी भए । बारीको धान एक पटक पनि नगोडेको उनले बताए । ‘गह्रामा गोड्न पसिनँ, कान्लाको घाँस काटें, पानीको दुखै परेन ।’ पाखे धानमा फड्के कीराले भने दुःख दिने उनको अनुभव छ ।
बेलहराको साँवाबारी, माहाङ, रिपेनी, जीमी र सिङदानटोलका ५ सय ६० परिवारले सिँचाइ सुविधा पटक्कै नभएको रुख्खासुख्खामा पनि धान फलाएर यसको व्यवसायिकतामा आसा देखाएका छन् । पाखेधान रोपेका ५ सय ६० परिवारमध्ये ३ देखि २४ मुरीसम्म धान फलाएको धनकुटा १० का वडाध्यक्ष टंक रोइला बताउाँछन् ।
भन्छन्, ‘तीनदेखि २४ मुरीसम्म फलाए । उनले प्रति घर ७ मुरीका दरले उत्पादन हुँदा पनि ३ हजार ९ सय २० मुरी धान हुने हिसाब सुनाए । धनकुटा नगरपालिकाले पनि कात्तिक ३० गतेको वार्षिक प्रगति समीक्षामा यो तथ्यांक उल्लेख गरेको छ । बेलहरा गाउँ धनकुटा नगरपालिकाको १० नम्बर वडामा पर्छ । पाखे धानको परीक्षण उत्पादन राम्रो देखेपछि वडाले नै कार्यक्रम राखेर यहाँका ५ सय ६० परिवारलाई तीन किलोसम्म बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएर खेतीमा प्रोत्साहन गरेको रोइलाको भनाइ छ ।
स्थानीय बीउबिजन पसलसँग समन्वयमा बाहिरबाट बीउ मगाएको रोइलाले सुनाए । किसानले यो गाउँमा भारतबाट ल्याइएको शंकर र उपज नामको पाखे धानको बीउ रोपेका थिए । सुख्खाग्रस्त बेलहरा गाउँमा खानेपानीकै समस्या छ । सिँचाइलाई पुग्ने पानीको स्रोत कतै छैन । यहाँका किसान गोलभेंडा उत्पादन गरेर गुजारा गर्दै आएका थिए ।
तर गोलभेंडा उत्पादन पहिले जस्तो छैन । माटोमा बढेको अम्लियपन र गोलभेंडा खेतीमा भएको अनियन्त्रित विषादी प्रयोगले उत्पादन र गुणस्तर खस्कँदै गएको छ । मानव र घरपालुवा पशुवस्तुको स्वास्थ्यमा समेत त्यसको असर देखिन थालेपछि गोलभेंडा खेतीको विकल्प खोजेको वडाध्यक्ष टंक रोइलाको भनाइ छ । बेलहराका मात्रै होइन, धनकुटाको छथर जोरपाटी र शहिदभूमिका किसान पनि सिँचाइ सुविधा नभएको पाखो, सुख्खा र भिरालो जमिनमासमेत उत्पादन गर्न सकिने यो धान खेतीतर्फ आकर्षित भएका छन् ।
सिँचाइको पानी नलाग्ने र धान खेती असम्भव ठानिएका स्थानमा समेत राम्रो उत्पादन हुन थालेपछि यसतर्फ किसानको चासो बढ्दो छ । सुख्खा सहने यो धान भीरालो र पाखो बारीमा जेठ महिनामा रोपेर कात्तिक अन्तिम सम्म उत्पादन लिन सकिन्छ ।
नियमित सिँचाइको आवश्यकता नपर्ने यो धान सुख्खाग्रस्त क्षेत्रका लागि विकल्प हुन सक्ने कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताए । उनले आउँदो वर्षबाट सुख्खाग्रस्त क्षेत्रमा यो धान उत्पादनका लागि कार्यक्रम राखिने जानकारी दिए ।
