बजेट कटौतीपछि कोशीका पहाडी जिल्लामा निर्माण आयोजना प्रभावित

बहुवर्षेलाई बजेट अपुग, नयाँ योजना रोकिए 

मंसिर २, २०८२

विनोद घिमिरे

Construction projects in Koshi hill districts affected after budget cuts

What you should know

धनकुटा — संघीय सरकारले बजेट रोक्का गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाद्वारा सञ्चालित कार्यक्रम प्रभावित बनेका छन् । धनकुटामा रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाले धनकुटासहित भोजपुर र संखुवासभा जिल्लामा विकास निर्माण आयोजना सञ्चालन र कार्यान्वयन गर्छ ।

गत आर्थिक वर्षसम्म तेह्रथुम पनि आयोजनाको कार्यक्षेत्रमा थियो । तर यो आर्थिक वर्ष बाट हटाइएको छ । स्रोत सुनिश्चित भएर ठेक्का लागिसकेका बहुवर्षीय योजनाका लागि बजेट अपुग छ । प्राविधिक मूल्यांकन सकेर टेण्डर प्रक्रिया पूरा भएका नयाँ योजनाहरु पनि रोकिएको आयोजना प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिए ।

सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा धनकुटाको महालक्ष्मी नगरपालिकामा ३८ करोड रुपैयाँ लागतमा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत, सडक, बस्ती विकास र मिनिमार्केटका लागि भवन निर्माणको काम चलिरहेको छ । जस अन्तर्गत मिनी मार्केटको दोस्रो तला ढलान हुँदैछ भने हस्पिटल लाइनमा सबवेसको काम सकेर अन्य सडकमा बेस तथा कभरस्टोनको काम भइरहेको छ । 

कामको समग्र भौतिक प्रगति ७५ प्रतिशत छ । चालु आर्थिक वर्षमा १६ करोड रुपैयाँ आवश्यक पर्ने भए पनि एक करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको श्रेष्ठको भनाइ छ । भोजपुर नगरपालिकामा ६ करोड रुपैयाँको लागतमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमका लागि एक करोड र संखुवासभाको खाँदबारी खोरण्डे महादेवस्थान चेवा सडकका लागि जम्मा १० लाख रुपैयाँ मात्रै छ ।

Construction projects in Koshi hill districts affected after budget cuts

भोजपुर नगरपालिकामा निर्माणाधिन एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम सडकमा सवबेसको काम सकेर बेसको काम सुरु हुन लागेको छ । यस्तै मिनिमार्केट फिनिसिङको काम हुँदैछ । बजेट कटौतीले सघन सहरी विकास, आवास व्यवस्था, बस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार विकास र पुनर्निर्माणसम्बन्धी सबैजसो परियोजनाहरु प्रभावित हुने अवस्था आएको हो । 

प्राविधिक मूल्यांकन सकेर ठेक्काको चरणमा रहेका ६० करोड रुपैयाँ लागतका योजना पनि अन्योलमा छन् । सघन सहरी तथा भवन निर्माण आयोजनाबाट चालु आर्थिक बर्षमा करिब एक अर्ब रुपैयाँ लागतका ७२ वटा आयोजना छन् । संघीय सहरी विकास आयोजना, आवास व्यवस्था, सघन सहरी विकास, भवन निर्माण संहिता, सरकारी भवन निर्माण, वस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार विकास, सहरी विकास तथा भवन निर्माण विभागलगायत उप शीर्षकका योजना हुन् । 

तर सबैजसो आयोजनामा बजेट अपुग हुने आयोजना प्रमुख श्रेष्ठ बताउँछन् । ‘बजेट अपुग भएका सबै योजनाका लागि थपेर पठाउन मन्त्रालयसँग अनुरोध गरेका छौं,’ श्रेष्ठ भन्छन्, ‘ठेक्का लागिसकेका परियोजनाहरु नरोक्ने गरी कुरा भइरहेको छ ।’ सकेसम्म पर्याप्त बजेट आउनेमा आसावादी रहेको उनको भनाइ छ । आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुन लाग्दा धनकुटा, भोजपुर र संखुवासभा कार्यक्षेत्र तोकिएको  सघन सहरी तथा भवन निर्माण आयोजनाको भौतिक प्रगति ३५ र वित्तय प्रगती ६ दशमलव ३७ प्रतिशत छ । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully