तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको पालामा वि.सं. १९७८ सालमा सञ्चालनमा ल्याइएको पानीबाट चल्ने टक्सारमा २ र ५ पैसाको ढ्याङ्क छापिन्थ्यो। तर उक्त टक्सार घर सल्लेरीस्थित नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेकभित्र छ।
धनकुटा — धनकुटा सदरमुकाम सल्लेरीमा रहेको ऐतिहासिक टक्सार घर सर्वसाधारणका लागि खुला गर्न गृहकार्य सुरु भएको छ।
तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको पालामा वि.सं. १९७८ सालमा सञ्चालनमा ल्याइएको पानीबाट चल्ने टक्सारमा २ र ५ पैसाको ढ्याङ्क छापिन्थ्यो। तर उक्त टक्सार घर सल्लेरीस्थित नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेकभित्र छ।
लामो समयदेखि उक्त टक्सार घर र भीत्रको पर्यटक र अध्येताका लागि खुला गर्नुपर्ने माग उठिरहेको छ। तर सुरक्षा संवेदनशीलताका कारण पानढीकी टक्सार सर्वसाधारणलाई भ्रमण र अवलोकनका लागि खुला गरिएको छैन। उक्त टक्सार घर संरक्षण र जिर्णोद्वारका लागि पुरातत्त्व विभागबाट चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ।
अहिले नेपाली सेना, पुरातत्त्व विभाग, जिल्ला समन्वय समिति, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरोकारवालाबीच छलफल सुरु भएको छ। नेपाली सेनाको भीमदल गणका गणपति गणेश थापाले टक्सार घर मर्मतका लागि सेनाले सहजीकरण गर्ने बताएका छन्।
तर टक्सार घर सञ्चालन मोडालिटी र सर्वसाधारणका लागि खुला गर्ने विषयमा भने विस्तृत छलफल र नेपाली सेनाको लिखित अनुमति आवश्यक हुने थापाको भनाइ छ। टक्सार घर संरक्षण र सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन आवश्यक पर्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद खड्काको भनाइ छ।
उनले पानढीकी टक्सारको सञ्चालन स्वामित्व नगरपालिका, प्रदेश संग्रहालय, पुरातत्त्व विभाग वा कसले लिने भन्ने टुंगोमा पुग्नुपर्ने बताएका छन्।
