धनकुटाको खाल्सा क्षेत्रमा वाडाङमीको रौनक

नयाँ बाली भित्राएको खुसीमा सात दिनसम्म धुमधामका साथ मनाइने यो चाडमा छिन्ताङ र आँखिसल्लाका राई समुदायले आफ्ना इष्टदेव बुढाहाङको निष्ठापूर्वक पूजा गर्छन्।

कार्तिक २६, २०८२

विनोद घिमिरे

धनकुटा — धनकुटाको शहिदभूमि गाउँपालिकामा पर्ने छिन्ताङ र आँखिसल्ला क्षेत्रमा राई समुदायको वाडाङमी चाड सुरु भएको छ।

कार्तिक पूर्णिमापछि मंगलबार अर्थात् हिजोबाट विधिवत् रूपमा माङला उठाएपछि यो चाडको औपचारिक सुरुवात भएको मानिन्छ। नयाँ बाली भित्राएको खुसीमा सात दिनसम्म धुमधामका साथ मनाइने यो चाडमा छिन्ताङ र आँखिसल्लाका राई समुदायले आफ्ना इष्टदेव बुढाहाङको निष्ठापूर्वक पूजा गर्छन्। भदौमा उनीहरूले अदुवा र धानजस्ता नयााबालीको न्वागी मनाएका थिए।

तान्त्रिक विद्यामा निपुण मानिएका बुढाहाङलाई यहाँको राई समुदायले इष्टदेवको रूपमा श्रद्धा गर्ने चलन छ। मंगलबारबाट सुरु भएको चाडमा बुध, बिही, शुक्र र शनिवार मुख्य देवता प्रवेश गर्छन् भन्ने मिथक छ।

एकसाता सम्म मनाइने यो चाडमा खाल्साली राई समुदायले विधि जान्ने ‘वाटुङ’ बोलाएर घरघरमा भविष्य हेराउँछन्। यस बेला उनीहरूले कुल र पितृपूजा गर्ने, जोखना हेराउने र भाकल छिनाउने गर्छन्। कुलपूजामा फूल, अक्षता, पान–सुपारी, कुखुरा, परेवा र सुआगुरको पाठा चलाइन्छ। परिवारिक सुख–शान्तिका लागि इष्टदेवको प्रार्थना गरेर आशिर्वाद माग्ने चलन रहेको शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई बताउँछन्।

वैदिक कार्य सकेर उनीहरू वर्षभरीका पीर–मार्का भूलेर ढोल–झ्याम्टा बजाउँदै समूह–समूहमा नाचगान गरी रमाइलो गर्छन्। तुलनात्मक रूपमा सानो भूगोल भए पनि खोकु, छिन्ताङ्ग र आाखिसल्लाका राई समुदायको भाषा फरक छ।

खोकुमा धेरैजसो वान्तवा, आाखिसल्लामा छिलिङ्ग र छिन्ताङ्गमा बसोबास गर्नेले छिन्ताङ्गे भाषा बोल्छन्। भाषा र अन्य संस्कारगत विशेषतामा विविधता भए पनि उनीहरूले वाडाङमी चाडलाई साझा सांस्कृतिक धरोहरका रूपमा मान्दै आएका छन्। आउँदो मंगलबार सूर्योदयसंगै वाडाङमीको समापन गर्ने चलन छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully