धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको टुंगो, मन्त्रिपरिषद्ले दियो स्वीकृति

सोमबारको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका–७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गरेको हो।

कार्तिक २६, २०८२

विनोद घिमिरे

Land acquisition finalized for construction of provincial hospital in Dhankuta, Cabinet approves

What you should know

धनकुटा — लामो समयको अन्यौलपछि धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको टुंगो लागेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका–७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रदान गरेको जानकारी दिए। धनकुटा अस्पताललाई नै स्तरोन्नति गरी एकसय शय्या क्षमताको बनाउने चर्चा चलेको लामो समय भए पनि त्यसका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन बाँकी थियो।

मन्त्रिपरिषद्को स्वीकृतिपछि नगर विकास समिति र रेशम खेती विकास कार्यक्रम स्वामित्वको जग्गा सट्टाभर्नाको विवाद अन्त्य भएको छ। जग्गाको स्वामित्व प्राप्त नहुँदै प्रादेशिक अस्पतालका नाममा उक्त स्थानमा २५ करोड ८० लाख रुपैयाँको लागतमा पाँचतले सुविधासम्पन्न अस्पताल भवन निर्माणको काम भइरहेको छ। भवन निर्माणको काम ४० प्रतिशत पूरा भएको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा धनकुटा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले जानकारी दिए।

तामाङले स्वामित्व प्राप्ति पूरा भएकाले निर्माण कामलाई गति दिन थप सहज भएको बताए। कोशी प्रदेश सरकारले २०७८ सालमै १५ शय्या क्षमताको धनकुटा अस्पताल स्तरोन्नति गरी एकसय शय्या क्षमताको बनाउने निर्णय गरेको थियो। असोजमै प्रादेशिक शिक्षण अस्पताल संचालनका लागि कोशी प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको र अब जग्गाको स्वामित्व पनि प्राप्त भएकाले प्रादेशिक शिक्षण अस्पताल संचालनको बाटो खुला भएको तामाङको भनाइ छ।

‘शिक्षण अस्पताल संचालनका लागि न्यूनतम एकसय शय्या क्षमताको अस्पताल आवश्यक पर्ने मापदण्ड छ। अस्पताल संचालनको स्वीकृति कोशी प्रदेश सरकारबाट पाइसकेका छौं, जग्गाको स्वामित्व प्राप्त भएकाले अब थप सजिलो भएको छ,’ उनले भने। ‘केही समयभित्रै एचए र स्टाफ नर्सको पढाइ संचालनको आवश्यक प्रक्रिया सुरु गर्छौँ। ओएनएमको काम सकिने बित्तिकै अस्पताल एकसय शय्या क्षमतामा संचालनमा आउने छ।’हाल धनकुटा अस्पताल १५ शय्या क्षमतामा संचालन भइरहेको छ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully