इटहरीमा प्रहरी मुचुल्काबिनै क्षतिग्रस्त सरकारी कार्यालय सरसफाइ गर्दा विवाद

भाद्र २८, २०८२

सुनसरी– जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयहरुमा प्रहरीले मुचुल्का तयार नगरीकन नागरिक तहबाट भएको सरसफाइको आलोचना भएपछि इटहरीमा विवाद भएको छ ।

कोशी प्रदेश टाफिक प्रहरी कार्यालय इटहरी सरसफाइ तथा रंगरोगन गर्ने भन्दै बिहान ११ बजे देखि इटहरीका केही स्थानीय तथा संघसंस्थाका प्रतिनिधिले काम सुरु गरेका थिए ।

तर प्रहरीले कार्यालयमा भएको क्षति तथा घटनाको मुचुल्का तयार नगरी घटनास्थलमा प्रवेश गर्न नहुने र प्रमाण नष्ट हुने बताएपछि सरसफाइ कार्यक्रम विवादित बनेको छ ।

अहिले अधिकांश सहभागीहरू प्रहरीबाट यस्तो भनाइ आएपछि सरसफाइबाट पछि हटेका छन् । उक्त सरसफाइको नेतृत्व स्थानीय समीर कार्कीले गरेका थिए ।

Link copied successfully