पाका साथी

शान्तदास अहिले ८५ वर्षका भए तर थुप्रै बालबालिकाका साथीजस्तै छन् । बाल साहित्यमा योगदान पुर्‍याएकामा उनले जगदम्बाश्री पुरस्कार पाउने भएका छन् ।
हिमेश बज्राचार्य

काठमाडौँ — शान्तदास मानन्धर बालसाहित्यका हुन् । उनी अहिले ८५ वर्षका भए । यो उमेरमा पनि उनी बालसाहित्य लेखन र सम्पादनमा एकदमै सक्रिय छन् । उनले बालसाहित्यमा कलम चलाउन थालेकै ६० वर्ष भइसक्यो । उनका दुई दर्जन जति बालसाहित्यका किताब प्रकाशित छन् । दुई सयभन्दा बढी बालसाहित्यकै पुस्तक सम्पादन गरेका छन् ।

पाका साथी

अहिले पनि स–साना बालबालिकाले पढ्ने साहित्य कस्तो हुनुपर्छ भनेर अध्ययन र चिन्तन मनन गरिरहेका छन् । बालसाहित्यमा निरन्तर कलम लचाएर स्तरीय रचनाहरू दिएबापत् उनलाई जगदम्बाश्री पुरस्कार दिने घोषणा हालै मात्र भएको छ ।

काठमाडौंको झोछेँमा जन्मेका शान्तदासले सुरुवाती शिक्षा आफ्नै घर र टोल छिमेकमा पाएका थिए । किनभने उनी आफू सानोछँदा विद्यालय जाने चलन थिएन । पछि एकैपल्ट ५ कक्षामा जेपी स्कुलमा भर्ना भए । त्यहाँबाटै एसएलसी दिए ।

झोछेँमा जन्मे पनि उनी नजिकैको मरुटोलमा हुर्किए । त्यहाँ उनको बुबाको साबुन पसल थियो । पढ्दै जाँदा उनले स्नातकसम्मको शिक्षा हासिल गरे । शान्तदासले शिक्षकका रूपमा धेरै वर्ष पढाए । त्यसताका पढाउनुलाई पेसाभन्दा पनि समाजसेवाका रूपमा लिइन्थ्यो । उनले एक होइन, धेरै विद्यालयमा पढाए । २००९ सालतिर युवामाझ समाजसेवा गर्ने लहर नै सुरु भएको थियो । यसमध्ये पढाउनुलाई नै सबैभन्दा राम्रो काम मानिन्थ्यो ।

शान्तदासले सबैभन्दा लामो समय शिक्षकका रूपमा झोछेँकै बालसेवा विद्यालयमा बिताए । त्यहाँ १० वर्ष प्रधानाध्यापक रहे । त्यसअघि काठमाडौंकै लैनचौरस्थित शान्ति विद्यागृहमा पनि केही समय पढाए । यसरी शिक्षकका रूपमा विद्यालयमा समय बिताउँदा उनी स–साना बालबालिकासँग नजिक हुन पुगे ।

यस क्रममा उनलाई थाहा भयो– कलिलो उमेरका बालबालिकालाई के मन पर्छ, के मन पर्दैन ? के गर्दा खुसी हुन्छन्, के गर्दा बेखुसी ? शान्तदास राम्रा चित्रकारसमेत थिए । त्यसैले पढाउने क्रममा उनी जहिल्यै सकेसम्म चित्रको बढी प्रयोग गर्थे । घोडाबारे पढाउनु छ भने उनी ब्ल्याकबोर्डमा त्यसको चित्र बनाउँथे । चित्रमै घोडा देखेपछि यो कस्तो जनावर हो भनेर धेरै बताइरहनै पर्दैनथ्यो ।

त्यसैले पनि होला शान्तदास स–साना विद्यार्थीबीच निकै लोकप्रिय भए । यो लोकप्रियतासँगै उनी बालसाहित्यमा आकर्षित भए । अनि स–साना बालबालिकाका लागि कलम चलाउन थाले । २०१५ सालतिर शान्तदासका दुई पुस्तक अंग्रेजीमा प्रकाशित भए । पछि नेपाली र नेपाल भाषामा पनि कलम चलाए । त्यति बेला नेपालीमा बालसाहित्य लेख्न थालिएको थियो । तर प्रकाशित पुस्तक बालबालिकाको हातमा पर्न मुस्किल थियो । ‘मैले बालसाहित्य सिर्जना गर्न थाल्नुको पहिलो उद्देश्य भनेकै किताबहरू बालबालिकासम्म पुगोस् भन्ने थियो,’ अहिले उनी सम्झिन्छन् ।

शान्तदास युवाछँदै चीन र त्यति बेलाको सोभियत संघसँग नेपालको दौत्य सम्बन्ध सुरु भएको थियो । त्यस क्रममा त्यहाँका बालसाहित्य पनि नेपाल आइपुगे । त्यसमध्ये केही नेपालीमा अनुवाद भए । यसरी चीन र सोभियत संघका बालसाहित्यबारे पनि जानकारी भएपछि उनलाई यस क्षेत्रमा कलम चलाउन अझै मद्दत पुग्यो ।

बालसाहित्य कस्तो हुनुपर्छ भन्नेबारे शान्तदास भन्छन्–
बालसाहित्य लेख्दा निकै सचेत भएर लेख्नुपर्छ । यसका लागि धेरैभन्दा धेरै मिहिनेत चाहिन्छ । एकैपल्ट लेखेर टुंग्याउनुपर्छ भन्ने छैन । दोहराएर– तेहराएर लेख्नुपर्छ । लेखकले आफ्ना रचना सफा होस् भनेर निरन्तर र सक्दो प्रयास गर्नुपर्छ । बालसाहित्यको लेखकले सबैभन्दा पहिले ध्यान दिनुपर्छ– कतै यसले बालबालिकालाई कुनै प्रकारले हानि पुर्‍याउने काम त गर्दैन ? यस्तो हानि चेतनाका रूपमा पनि हुन सक्छ, शारीरिक पनि हुन सक्छ । अथवा दुवै । बालसाहित्यको रचना आमा भएर गर्नुपर्छ । यसका लागि आमाको जस्तै माया र धैर्य हुनुपर्छ । आमाको जस्तैमुटु, त्याग र समर्पण चाहिन्छ ।

आफ्नो बच्चालाई लिएर आमाको आफ्नै धारणा हुन्छ । ठूलो भएर यो यस्तो बन्छ, उस्तो बन्छ भन्ने आशा र भरोसा हुन्छ । त्यसरी नै लेखकले पनि बालबालिकाप्रति आशा र भरोसा राख्नुपर्छ । अहिलेको बालसाहित्यमा धेरै सुधार चाहिन्छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?