कर्णालीको सत्तीघाट मुलुककै पहिलो ‘माछा संरक्षित क्षेत्र’

माछाको दिगो संरक्षण गर्नका लागि राजापुर र टिकापुर नगरपालिकाबीच माछा संरक्षित क्षेत्र घोषणा गर्ने सम्झौता भएको हो ।

पुस २५, २०८२

रामप्रसाद चौहान 

Sattighat in Karnali is the country's first 'fish protected area'

What you should know

बर्दिया — कर्णालीको सत्तीघाटलाई माछा संरक्षित क्षेत्र घोषणा गरिएको छ । राजापुर र टिकापुर नगरपालिकाको सीमा क्षेत्रमा रहेको सत्तीघाट र आसपास क्षेत्रलाई मुलुकमै पहिलो ‘मत्स्य अभयारण्य क्षेत्र’ घोषणा गरिएको हो । 

माछाको दिगो संरक्षण गर्नका लागि राजापुर र टिकापुर नगरपालिकाबीच माछा संरक्षित क्षेत्र घोषणा गर्ने सम्झौता भएको हो । राजापुरका नगर प्रमुख दिपेश थारु र टिकापुरका नगर प्रमुख रामलाल डगौंरा थारुले ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुबै नगरपालिकाका नगर प्रमुखले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेपछि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको थियो । राजापुर–३, बाट दक्षीण टेडियादेखि वडा नम्बर–४ को छेदिया घाटसम्म र टिकापुर–८, फाँटादेखि सोही वडाको अर्नहवा घाटसम्मको क्षेत्रलाई माछा संरक्षण क्षेत्र घोषणा गरिएको छ । तोकिएको क्षेत्रमा माछा मार्न रोक लगाइएको छ । 

कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका १५ समुहले माछा संरक्षणकालागि विशेष भूमिका निर्वाह गरिरहेका छन् । राजापुर नगरपालिका अन्तर्गत १३ र कैलालीको टिकापुर अन्तर्गतका २ वटा सामुदायिक नदी खण्ड सह–व्यवस्थापन समुहले अवैद्य गतिविधिको अनुगमन, माछा संरक्षण सम्बन्धि जनचेतना फैलाउने कार्य गरिरहेका छन् ।

Sattighat in Karnali is the country's first 'fish protected area'

नेपालको जलचर ऐन २०१७, टिकापुर नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन २०७६ र राजापुर नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन २०८२ को दफा १८ मा आधारित भएर संरक्षित घोषणा गरिएको हो । 

मत्स्य अभयारण्य घोषणा क्षेत्रको आवश्यकता, यसको दिर्घकालीन संरक्षण रणनीति, समुदायको चाहनाका आधारमा यस क्षेत्रलाई परिष्कृत गर्दै लगिने, दुवै स्थानीय तहले नदी सह व्यवस्थापन समुहको अनुगमन र संरक्षणको भूमिकालाई आत्मसात गर्ने र ती समुहलाई शशक्त र दिगोपनकालागि उनीहरुको दर्ता तथा नेतृत्व रहनेगरि पालिकास्तरीय संयन्त्र निर्माण गर्ने, उल्लेखित मत्स्य अभयारण्य भित्र माछा मार्न, विषादी तथा करेन्ट प्रयोग गर्न, ढुङ्गा, बालुवा उत्खनन् जस्ता कार्यमा रोक लगाउने लगायत बुँदाहरु घोषणा पत्रका उल्लेख गरिएको छ ।

मत्स्य अभयारण्य क्षेत्र भन्दा बाहिर व्यवस्थित तरिकाले माछा मार्न पाइने राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए । ‘यस क्षेत्रलाई माछा संरक्षणको केन्द्र बनाएरर्  पर्यटक भित्रिर्‍याउने योजना छ,’ उनले भने,‘यसका लागि दुवै पालिकाले कार्यविधि बनाएर माछा संरक्षणलाई व्यवस्थित बनाउदै अघि बढ्नेछ ।’

पहिलाको दाँजोमा आजभोली नदीमा कम माछा पाइन थालेको टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौंरा थारुले बताए ।  ‘विष, विस्फोटक पदार्थ, जाल प्रयोग गरी माछा मार्नेक्रम बढ्यो,’उनले भने, ‘अबको ५० वर्षपछि माछा हराउने सम्भावना देखिएको छ ।’ लोप हुँदै गइरहेका माछाको संरक्षण गर्न संरक्षित क्षेत्र घोषणा गरिएको उनले बताए ।  

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully