हालको परिप्रेक्ष्यमा घरेलु क्रिकेटमा एकदिवसीय अझ दुईदिवसीय खेलहरु पर्याप्त मात्रामा खेलाउनु नै दूरगामी हिसाबमा नेपाली क्रिकेटको हिसाबमा हुन्छ ।
काठमाडौँ — एकपछि अर्को फ्रेन्चाइज क्रिकेट लिगको आयोजनाले यतिबेला नेपाली क्रिकेटलाई चलायमान नै बनायो ।
कात्तिक २० गते पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेल भयो । त्यसको दुई महिना पनि नबित्दै अर्को फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) पनि सम्पन्न भइसकेको छ । अब धनगढी प्रिमियर लिग (डीपीएल) सुरु हुन लागेको छ ।
ईपीएल, पीपीएल र डीपीएल नेपाली घरेलु क्रिकेटका ठूला लिगहरूमध्येका हुन् । अवश्य पनि यस्ता प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ त उन्मुख गराइरहेका छन् । अनुभवी तथा ठूला विदेशी खेलाडीको सहभागिता तथा क्रिकेटरहरूलाई आर्थिक पुनरावृत्तिका साथै अन्य पक्षमा नेपाली क्रिकेटलाई टेवा दिइरहेको छ ।
नेपालमा आधिकारिक क्रिकेट निकायको अनुपस्थितिमा निजी क्षेत्रबाट आयोजना भइरहेका यस्ता प्रतियोगिताका आयोजकलाई जस दिनै पर्छ । समर्थकको सहभागिता बढाउने उद्देश्यले ईपीएलमा एक हातले क्याच गर्ने दर्शकलाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो । यस्तो सोचको सुरुवातले नेपाली क्रिकेटमा नयाँ प्रयोगले पनि केही हदसम्म निरन्तरता पाइरहेको भान हुन्छ ।
फेरि यस्ता प्रतियोगिताबाट क्षमता निखार्ने मौका पाएका युवा खेलाडीले आफ्नो प्रदर्शनबाट समर्थक तथा सरोकारवालाको मन पनि जितेका छन् । दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, रसिद खान, पवन शर्राफ, अनिलकुमार शाह र अन्य युवा क्रिकेटरका लागि यस्ता प्रतियोगिता वरदान नै सावित भइरहेको छ । युवा क्रिकेटरका लागि राष्ट्रिय टोलीको ढोका ढकढक्याउने माध्यम बनिरहेको छ यस्ता प्रतियोगिताहरू ।
यी त भए फ्रेन्चाइज लिगले नेपाली क्रिकेटमा छोडेका सकारात्मक प्रभावहरू । के अब नेपाली क्रिकेटलाई माथि उठाउने हो भने फेरि अर्को एउटा क्रिकेट लिग सुरु गर्नुपर्ने हो त ? अहिले सञ्चालन भइरहेका तीन वटा ठूला फ्रेन्चाइज लिगको संख्या बढाएर ५ वटा बनाउने पो हो कि ? काठमाडौं, पोखरा र धनगढी नभई अर्को कुनै सहर छानेर त्यहाँ अर्को लिग आयोजना गर्दा कस्तो होला ?
हालै सम्पन्न ईपीएललाई नै उदाहरणका रूपमा लिने हो भने पनि नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का तथा उपकप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक रूपमै यस प्रतियोगिताका कमी कमजोरी औंल्याएको सबैमा अवगत नै छ । यो स्तरको प्रतियोगिता सञ्चालन गर्दा केही कमजोरी तथा त्रुटि हुनु स्वाभाभिक नै हो । तर नेपालको ठूलो लिग भन्ने उपाधिको पछि दौडिने प्रवृत्ति भने पक्कै पनि प्रोत्साहन लायक हुँदैन ।
ईपीएलमा प्रदर्शन नै हेर्ने हो भने पनि सर्वाधिक रन बनाउने तथा विकेट लिने खेलाडीको सूचीमा विदेशी क्रिकेटरकै दबदबा देखियो । सर्वाधिक रन बनाउने १० ब्याट्सम्यानको सूचीमा मात्र दुई नेपाली खेलाडी थिए भने बलिङतर्फ सर्वाधिक विकेट लिने १० बलरको सूचीमा ४ नेपाली बलर सामेल थिए ।
संख्यामा मात्र हेर्ने हो भने नेपाली क्रिकेटलाई अर्को कुनै नयाँ लिगको आवश्यकता देखिँदैन । अहिलेको सन्दर्भमा हेर्दा क्रिकेट प्रतियोगिताको संख्या बढाएर भर्खरै जुर्मुराउन थालेका प्रायोजकमाथि आर्थिक भार थप्नुभन्दा हाल सञ्चालनमा रहेका प्रतियोगिताको स्तरोन्नतिमा ध्यान दिनु मुनासिब देखिन्छ । क्रिकेटमा पनि लगानी गर्नुपर्छ भन्ने भावनाले बीजारोपण गर्दै गरेको अवस्थामा गरिएको लगानीको उचित सदुपयोग भएमा प्रायोजकहरूलाई भविष्यमा थप लगानी गर्न प्रोत्साहन मिल्छ ।
क्रिकेट समर्थकमाझ लोकप्रिय यस्ता प्रतियोगिताहरू सबै ट्वान्टी–२० संरचनामा नै हुनुलाई चाहिँ सकारात्मक रूपमा लिनु उचित हुँदैन । ५० ओभरको एकदिवसीय खेलका लागि टोली छनोट गर्दा यस्तै प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार लिनुपर्ने बाध्यता एकातर्फ छँदै छ भने अर्कोतर्फ २० ओभरको खेल खेलेर ५० ओभरको वानडे खेल्दा खेलाडीले आफूलाई परिस्थितिअनुरूप ढाल्न असहज भएको नेपाली टोलीको प्रदर्शनले पनि देखाउँछ । हालको परिप्रेक्ष्यमा घरेलु क्रिकेटमा एकदिवसीय अझ दुईदिवसीय खेलहरू पर्याप्त मात्रामा खेलाउनु नै दूरगामी हिसाबमा नेपाली क्रिकेटको हिसाबमा हुन्छ ।
जुन प्रतियोगिता सञ्चालन भए पनि, जति संख्यामा प्रतियोगिता आयोजना भए पनि, जुन टोलीले उपाधि हात पारे पनि अन्त्यमा नेपाली क्रिकेटको जित हुनुपर्छ, नेपाली क्रिकेट माथि उठ्नुपर्छ । विपक्षीलाई पराजित गरेर खेल जित्दैमा क्रिकेट माथि उठ्ने भने होइन । नेपाली क्रिकेटले व्यावसायिकतातर्फ पाइला अघि बढाइसकेको छ फ्रेन्चाइज लिगको सहायतामा, अब खाँचो छ त केवल संरचनाको, आधिकारिक क्रिकेट निकायको र क्रिकेटमा अनावश्यक राजनीतिक दाउपेचको अन्त्यको ।
