कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

र्‍यापका प्रणेता

पाखुरामा लक्ष्मीप्रसाद देवकोटाको तस्बिर र भूपी शेरचनको नामको ट्याटु खोपेका यी र्‍यापर भन्छन्, ‘जिन्दगीमा धेरै काम गरियो। तर र्‍याप गाउँदा जतिको आत्मसन्तुष्टि र माया कहिल्यै पाइएन। त्यसैले एउटै उद्देश्य बनाएको छु, स्तरीय र्‍याप गीत नियमित गाउने।’
गोकर्ण गौतम

काठमाडौं — टिअर्स ब्यान्डका मेम्बर बालकृष्ण तामाङ कलंकीको डिङडङ कफी सप पुगेका थिए, ०५१ सालको कुनै दिन। कलेज पढ्दै गरेका ठिटाको अखडा थियो, त्यो होटल। त्यस दिन बालकृष्णले अलि भिन्न दृश्य देखे, एउटा फुच्चे टेबल ठोक्दै आफ्नै पारामा र्‍याप गाइरहेको थियो, ‘यो हो मिनिङलेस र्‍याप...’ भन्दै।

र्‍यापका प्रणेता

टिअर्स ब्यान्डका मेम्बर बालकृष्ण तामाङ कलंकीको डिङडङ कफी सप पुगेका थिए, ०५१ सालको कुनै दिन। कलेज पढ्दै गरेका ठिटाको अखडा थियो, त्यो होटल। त्यस दिन बालकृष्णले अलि भिन्न दृश्य देखे, एउटा फुच्चे टेबल ठोक्दै आफ्नै पारामा र्‍याप गाइरहेको थियो, ‘यो हो मिनिङलेस र्‍याप...’ भन्दै। आफूभन्दा ठूला मान्छेको सामु कुनै धक नमानी बाल गीत गाउने उमेरको फुच्चेले र्‍याप हानेको देखेपछि बालकृष्ण लोभिए।

नजिक गएर आफ्नो परिचय दिए, उसको आत्मविश्वास र र्‍यापको प्रशंसा गरे। त्यो फुच्चे त्यही थियो, जसले आठ कक्षा पढ्दै गर्दा नेपाली र्‍यापको बीउ रोप्यो। गोडमेल गर्‍यो र आफूलाई नेपाली र्‍याप म्युजिकको निर्विवाद प्रणेताका रूपमा उभ्यायो। फुच्चे अर्थात् गिरीश खतिवडा। पछिल्लो पुस्ताका र्‍यापर गिरीशलाई नेपाली र्‍यापको ‘गड फादर’ मान्छन्। बीचमा केही समय ‘ब्रेक’ भए पनि उनको र्‍याप क्रेज ओरालो लागेको छैन।
बालकृष्णसँगको त्यही भेटले गिरीशको सफलताको ढोका खोल्यो। उनले ‘मिनिङलेस र्‍याप...’ रेकर्डको प्रबन्ध मिलाइदिए। त्यही गीतले उनलाई हारती क्यासेट सेन्टरसम्म पुर्‍यायो। हारतीले चर्चित एल्बम ट्यालेन्ट ३ मा गीत समावेश गर्ने भयो। ‘ट्यालेन्टका अघिल्ला दुई भाग किनेरै सुनेको थिएँ, त्यसैले तेस्रो भागमा मेरो गीत पर्‍यो भन्दा पत्यारै लागेन,’ गिरीशले सम्झिए, ‘हारतीमा जाँदा र्‍यापरजस्तो देखिन न्युरोडमा हुडी टिसर्ट किनेर लगाएँ।’
‘मिनिङलेस र्‍याप...’ सुन्नासाथ हारतीका मालिक अनिल स्थापितले उनलाई सोलो एल्बमको अफर गरेका थिए। यो यस्तो बेला थियो, पप गीत गाएकै कारण हरिश माथेमा, भीम तुलाधर, सुनील उप्रेतीहरूले ‘आवरा’ को ट्याग भिर्नुपरेको थियो तर गिरीशलाई यसको बाल थिएन, उनी त हिपअप कल्चरमा अभ्यस्त हुन थालिसकेका थिए। उनी र्‍यापतिर तानिनु पछाडि एउटै कारण थियो, एमटीभी।
विराटनगरमा ३ कक्षा पढ्दा नै एउटा दाइको संगत लागेर ग्रान्डमास्टर फ्ल्यास, रन–डीएमसीजस्ता हिपअप गायक र समूहका गीत सुन्ने र डान्स गर्ने लत लागेको थियो। ‘काठमाडौं आएर एलआरआई स्कुलमा भर्ना भएपछि एमटीभीको फ्यान भएँ। त्यसमा मैले चाहेकै जस्ता गीतको भिडियो आउँथ्यो। र्‍यापरका स्टाइल र लुक्स फलो गर्न थालें,’ हाँस्दै भन्छन्, ‘ममी नहुनेबित्तिकै जीटीभी घुमाएर एमटीभी लगाउँथें।’
त्यतिबेला केटा कालो चस्मा लगाएर हिँड्न लजाउँथे, लुज पाइन्ट, ज्याकेट, टिसर्ट लगाउने झन् कसको हिम्मत? तर गिरीश लुज देखाउनकै लागि बुबाको कपडा लगाउँथे। उनलाई २५ इन्चको पाइन्ट ठिक्क हुन्थ्यो तर बुबाको ३६ इन्चको पाइन्ट लगाएर हिँड्थे, ज्याकेट पनि बुबाकै लगाउँथें तर समस्या के थियो भने बुबा अफिसबाट फर्कनु पहिले नै ती कपडा जहाँको त्यही राख्नुपथ्र्यो, अन्यथा पोल खुल्थ्यो।
उनले सम्झिए, ‘मेरो यस्तो लुक्स देख्नेले ठिस र पागल भन्थे, कुराकानी पनि र्‍यापमै गर्थे, झन् खिल्ली उठाउँथे तर मलाई बाल थिएन। म त र्‍यापमा मस्त भइसकेको थिएँ।’ हुन पनि यस्तो जुनुन नहुँदो हो त, १३ वर्षकै उमेरमा र्‍याप रेकर्ड गर्ने आँट कहाँबाट आउँथ्यो होला र? प्रनिल एल तिमिल्सिनालाई भेटेपछि गिरीशको म्युजिक मोह ह्वात्तै उकालो लाग्यो।
प्रनिल गिरीशको र्‍यापमा मोहित भए, गिरीशलाई मेलोडी गाउने चाहिएको थियो। दोस्ती कतिसम्म प्रगाढ भयो भने त्यसपछिका दुई वर्ष पसलमा गएर खासै खाएनन्। क्यासेट किन्दा र गाडी चढ्दै खाजा खर्च सकिन्थ्यो। त्यति बेला प्रनिल कलंकीमा बस्थें, प्रनिल मीनभवन। ‘कलंकीबाट टेम्पु चढेर माइतीघर अनि ट्रली बस पकडेर प्रनिल दाइको घर पुग्थें। फर्कंदा न्युरोडमा क्यासेट किनिन्थ्यो,’ गिरीश हाँस्दै भन्छन्, ‘अनि खाजाचाहिँ एकैपटक घर पुगेपछि मात्र।’
यही साधना र प्रनिलसँगको नियमित साधनाको प्रतिफल थियो, एल्बम मिनिङलेस र्‍याप। तर रमाइलो कुरा, एल्बमको विमोचनमा उनी सहभागी हुन पाएनन् किनभने त्यही दिनबाट सेन्ड–अप एक्जाम सुरु भएको थियो। हारती क्यासेट सेन्टरले गिरीशको लोकप्रियता क्यास गर्नकै लागि हिट भइसकेको गीतको शीर्षकबाटै एल्बमको नाम जुराएको हो।
गिरीश र प्रनिलको जोडी ‘जीपी’ को एल्बममा १० गीत समाविष्ट थिए, जसलाई नेपाली र्‍याप म्युजिकको ‘माइलस्टोन’ मानिन्छ। ‘निदाउन गाह्रो...’ प्रेमभाव पोखिएको देखी बालमनोविज्ञान उतारिएको ‘हामी धेरै साना छौं...’ सम्मका आरएन्डबी जनराका गीतले गिरीश प्लस प्रनिललाई हटकेक गायक बनायो। हरेक क्यासेट पसलमा प्राथमिकताका साथ यही एल्बम सजाइएको हुन्थ्यो भने स्पिकरमा पनि यसकै गीत घन्काइन्थ्यो।
कतिसम्म भने हारती क्यासेट सेन्टरमा नेपालका विभिन्न सहरबाट मात्र होइन, हङकङ, बु्रनाई, सिक्किम, दार्जिलिङबाट पनि फ्यानका पत्रको खात लाग्न थाल्यो। अधिकांश पत्र केटी प्रशंसक हुन्थे। गिरीश मुस्कुराए, ‘खामभित्र आई लभ यु लेखिएका चिठी मात्र होइन, लिपिस्टिक, फूल र फोटा पनि हुन्थे।’ तर उनका फ्यान त के, गिरीशले पनि कहिल्यै कल्पना गरेका थिएनन् सायद, यही प्रसिद्धि ‘ब्याडलक’ बन्छ भन्ने।
भइदियो के भने, उनी संगीतको अम्मली भएको र एल्बम निकालेको कुरा पहिलोपटक परिवारले सुइँको पायो। फस्ट हुने छोरो किन फोर्थ भयो भन्ने भेउ पाए उनका बाबुआमाले। ट्युसन पढ्ने बहानामा म्युजिक प्राटिक्स गरेको, ट्युसन फी क्यासेट पसलमा बुझाएकोजस्ता हर्कतको भेद खुल्दै गयो। परिणाम, परिवारबाट संगीतमा पूर्णकालीन प्रतिबन्धको घोषणा भयो।
त्यतिबेलासम्म गिरीशलाई र्‍यापको लत लागिसकेको थियो तर परिवारको कारण चटक्कै त्याग्नुपरेपछि उनी ‘फ्रस्टेसन’ को सिकार भए। न पढाइ राम्रो थियो, न उनी खुसी थिए, नराम्रा विचार र व्यवहारले डेरा जमाउन थाले उनको जीवनमा। र, पनि उनलाई ‘म हिँडिरहेको बाटो गलत छ’ भन्ने हेक्काचाहिँ थियो। त्यसैले यही कुबाटोबाट मुक्ति पाउन उनले विराटनगरको बाटो रोजे। त्यहीबाट बीकम सके।
त्यहीताका विराटनगरमा एउटा ठूलो क्यासेट पसल थियो, अब्सेसन। मालिक थिए, राजेश वंशल। राजेश हरेक भेटमा गिरीशलाई ‘मिनिङलेस र्‍याप’ एल्बम आफ्नो पसलबाट मात्र ५० हजार प्रति बिकेको सुनाउँथे, संगीत नछोड्न अनुरोध गर्थे। राजेशले आफ्नै कम्पनीबाट एल्बम निकाल्ने प्रतिबद्धतासमेत जनाए। अनि निक्लियो, एल्बम ब्याक अगेन।
प्रनिल र गिरीश मिलेर निकालेको यस एल्बमको ‘म यस्तो छु...’ गीतको भिडियो प्रसारण भएपछि गिरीश फेरि सहरको हटकेक गायक बने। उनी सुनाउँछन्, ‘बीकम सकेपछि फुर्सदको समयमा एल्बम निकालेका थियौं, सोचेको भन्दा धेरै हिट भइयो।’ केही समयपछि प्रनिलसँगको सहकार्य टुट्यो। सुदिन पोखरेल ‘डीए ६९’ र अमित सिन्हा ‘एड्रे’ लिएर नयाँ समूह फर्म गरे, गिरीश एन्ड त युनिटी।
तर पहिलो एल्बम ननिक्लँदै उनी थप अध्ययनका लागि अमेरिका पुगे। उनी जानु पहिल्यै मास्टर कपी तयार भइसकेको एल्बम दुई वर्षपछि निक्लियो। जसको ‘सी इज द बम...’ गीत युवा पुस्तामाझ अत्याधिक हिट भयो। अमेरिका बसाइका क्रममा गिरीशको करिअरमा फेरि ब्रेक लाग्यो। चार वर्षअघि स्वदेश फर्किएयता उनी पूर्ण रूपमा र्‍याप गाउनै तल्लीन छन्। उनका प्रशंसकले यो सक्रियतालाई ‘सेकेन्ड इनिङ’ मानेका छन्।
हालै ग्रेटेस्ट हिट नामक एल्बम आइट्युन्सबाट लञ्च गरे। कलेक्सन एल्बम र फिल्ममा पनि गाएकै छन्। उनको पुस्ताका सुगम पोखरेलसँग मात्र होइन, बी–८ र जीएक्स सोलजस्ता पछिल्लो समयका हिट हिपअप ब्यान्डसँग पनि गाइसकेका छन्। गिरीशले ‘मिनिङलेस र्‍याप...’ भन्दै र्‍याप गाउन सुरु गरे तर यथार्थमा चाहिँ उनले गाउने र्‍याप कहिल्यै ‘मिनिङलेस’ रहेन।
अर्थपूर्ण र सन्देशमूलक भाव बोकेको गीत मात्र गाए। ‘मलाई भोट दे...’ भोट पाएपछि जनताको आशामा लात मार्ने नेताप्रतिको आक्रोश हो भने ‘ड्रग्स मेरो घर’ मा कुलतबाट भाग्न खोज्ने युवाको पीडा पोखिएको छ। गृहनगर विराटनगरलाई डेडिकेट गरेर गाएको गीत होस् वा ‘जित्नेको इतिहास...’ अर्थ र भावविहीन छैन। तीन साता अगाडि सार्वजनिक गरेको उनको वान टेक म्युजिक भिडियो पनि अडियन्सले रुचाएका छन्।

प्रकाशित : मंसिर १८, २०७२ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?