काठेखोलामा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन

आधारभूत अस्पताल संचालनले काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका–११ को रायडाँडा क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।

माघ २०, २०८२

प्रदीप पन्त

5-bed basic hospital operational in Kathekhola

बागलुङ — बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।

आधारभूत अस्पताल संचालनले काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका–११ को रायडाँडा क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । 

रेशमा आधारभूत अस्पताल निमार्णसँगै सेवा सुचारु हुँदा उपचारमा सहज भएको स्थानीय ताराप्रसाद गौतमले बताए । ‘गाउँमै अस्पताल निर्माण भएपछि उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता त हटेको छ,’ गौतमले भने, ‘अब मेडिकल अधिकृतसहितको टोली यहाँ सरकारले पठाउनुपर्‍यो ।’ 

सामान्य उपचारका लागि सदरमुकाम जानुपर्ने अवस्थामा कमी आएको स्थानीय लिलाधर गौतमले बताए । गाउँघरमै स्वास्थ्य सेवा पाउन थालेपछि भने निकै सहज भएको उनले बताए । 

संघीय सरकारको विशेष अनुदानको ३ करोड ७४ लाखको लागतमा भवन निर्माण भएको काठेखोला–७ रेशका अध्यक्ष प्रेम लामिछानेले बताए । ‘निर्धारित समय भन्दा ६ महिना अगाडि भवन सम्पन्न भएको थियो,’ लामिछानेले भने, ‘सम्पूर्ण तयारी पछि माघ महिनाबाट सेवा दिन सुरु गरेका छौं ।’  

आधारभूत अस्पताल २०८१ साउनदेखि २०८२ पुसभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । अस्पतालमा मेडिकल अधिकृतसहित १७ जनाको दरबस्दी रहेको छ । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पठाउन प्रदेश सरकारलाई पत्राचार गरिएको वडाध्यक्ष लामिछानेले बताए । अहिले मेडिकल अधिकृत नहुँदा भने जनस्वास्थ्य अधिकृतबाट सेवा प्रवाह हुँदै आएको काठेखोला गाउँपालिकाले जनाएको छ । 

प्रदीप पन्त

Link copied successfully