पोखराका होटेल-रिसोर्टमा तीन अर्ब आसपासको क्षति भएको अनुमान

भाद्र २७, २०८२

कास्की — जेन–जीले अगुवाई गरेको आन्दोलनपछि भएको तोडफोड र आगजनीका कारण पोखराका होटेल तथा रिसोर्टमा तीन अर्ब रुपैयाँ आसपासको सम्पत्ति नोक्सान भएको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ ।

होटेल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमणको क्रममा तोडफोड तथा आगजनी हुँदा उक्त मूल्य बराबरको क्षति भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,`यस प्रकारका पर्यटकीय प्रतिष्ठानमाथि भएका घटनाको निष्पक्ष छानबिन गरी उचित क्षतिपूर्ति दिलाउन सरकारलगायत इन्स्योरेन्स कम्पनी र सम्बन्धित सरोकारवाला पक्षसँग संघ अपिल गर्न चाहन्छ ।´

शक्तिशाली अधिकार प्राप्त न्यायिक समिति गठन र आक्रमणकारीको पहिचान गरी कारबाही गरिनुपर्ने संघको माग छ ।

प्रदर्शनकारीले पोखराको लेकसाइडस्थित होटल सरोवर,होटल एडम,होटल पोखरा गुडविल,वरपिपल रिसोर्ट र बगैंचा रिसोर्ट एण्ड स्पामा आगजनी र तोडफोड गरेका थिए ।

पर्यटकीय सिजन सुरु हुने समयमा भएको घटनाबाट पर्यटन क्षेत्रमा प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पर्ने संघको ठहर छ । यसका कारण बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा,ऋण तिर्न पनि व्यवसायी असमर्थ हुने अवस्था आएको संघको भनाइ छ । त्यसैले व्यावसायिक सुरक्षा कायम राख्न संघले सरकारसँग माग गरेको छ ।

आगजनी र तोडफोडका कारण हजारौँ कामदारसमेत प्रत्यक्ष प्रभावित भएकोमा संघले चिन्ता प्रकट गरेको छ ।


Link copied successfully